समाज

बथानबाट एक्लिएर बस्ती पसेको छावाको उद्धार

By admin

November 01, 2022

झापा । बथानबाट एक्लिएको हात्तीको एउटा छावालाई सोमबार मेचीनगरबाट उद्धार गरिएको छ । भारतबाट आइतबार नेपाल पसेको करिब आठ महिनाको सो छावा मेचीनगरको वडा नं ४, ६ र ७ का विभिन्न स्थानमा डुल्ने गरेको थियो ।

 

वन कर्मचारी र स्थानीय बासिन्दाले सो छावालाई मेचीनगर ७ गोमनसरीबाट नियन्त्रणमा लिएर मेचीनगर ४ स्थित दशगजामा भारतीय वन कार्यालयका कर्मचारीलाई बुझाएका छन् । उद्धारको पहलकर्ता मेचीनगर ४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीका अनुसार धानबारीमा डुलिरहेको अवस्थामा दिउँसो १ बजे छावालाई उद्धार टोलीले नियन्त्रणमा लिएको थियो भने अपराह्न ४ बजेतिर भारतीय वन कार्यालयका कर्मचारीलाई जिम्मा लगाइएको थियो ।

 

नियन्त्रणमा लिइएको हात्तीको छावालाई मिनी ट्रकमा हालेर दशगजासम्म पुर्याइएको थियो । बथानबाट अलग्गिएको छावा विगत १२ दिनदेखि उसको बथानमा मिसाउन भारतीय वन कर्मचारीले प्रयास गरिरहेका बेला भागेर नेपाल पसेको वडाध्यक्ष कार्कीले भारतीय वन अधिकारीलाई उद्धृत गर्दै बताए ।

 

आइतबार बाहुनडाँगीमा देखापरेको सो छावालाई उद्धारका लागि कोसी टप्पु वन्यजन्तु आरक्ष र डिभिजन बन कार्यालय झापाको टोलीसमेत परिचालन भएको थियो । उद्धार कार्यका स्थानीय नुतन कार्की लगायतको टोली खटिएको थियो ।

 

जथाभावी गाउँ र बालीमा पस्ने गरेका कारण छावालाई मानिसले कुटेर मार्ने सम्भावना बढेपछि सुरक्षाका लागि उद्धार गरेर भारतीय वन कर्मचारीहरुलाई बुझाइएको कार्कीले बताए ।