समाज

आदिवासी जनजाति महासंघले झापाका उम्मेदवारसँग प्रतिबद्धता लिने

By admin

November 01, 2022

बिर्तामोड । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) झापाले झापाका पाँचै वटा निर्वाचन क्षेत्रका उम्मेदवारसँग अन्तरक्रिया गर्ने भएको छ ।

 

महासंघले कात्तिक १७ गतेदेखि आदिवासी जनजातिका हक अधिकारका विषयलाई समेटेर उनीहरुसँग अन्तरक्रिया गर्ने भएको हो । महासंघले पाँचै वटा क्षेत्रका प्रतिनिधिसभा, प्रदेश सभाका प्रत्यक्ष एवम् समानुपातिकतर्फ दलीय र स्वतन्त्र उम्मेदवारहरुसँग अन्तरक्रिया गर्न लागिएको बिर्तामोडमा आज आयोजित पत्रकार सम्मेलनमा महासंघका उपाध्यक्ष केवलराम राईले जानकारी दिए ।

 

संविधानले आदिवासी जनजातिको अधिकार सुनिश्चित गरे पनि कार्यान्वनमा नआएको, अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को १६९ मा उल्लेख भएका आदिवासी जनजातिका कुराहरुको बेवास्ता गरिएको लगायतका आदिवासी जनजातिसँग जोडिएका स्थानीय र राष्ट्रिय मुद्दाहरुलाई समेटेर जितेर गएपछि सोको कार्यान्वयनका लागि प्रतिबद्धता लिने मुख्य उद्देश्य रहेको जनाइएको छ ।

 

महासंघका अध्यक्ष पाण्डवलाल चौधरीले झापा ६५ प्रतिशत जनसंख्या आदिवासी रहे पनि आदिवासीको मुद्दा ओझेलमा परेको दाबी गरे । ‘आदिवासीको धर्म, भाषा, लिपी, संस्कार संस्कृति लोप हुँदै गएको छ’, उनले भने, ‘त्यसको संरक्षण राज्यबाट हुन सकेको छैन, आदिवासीको माग सम्बोधन हुन जरुरी छ ।’

 

महासंघले कुनै पनि दलको उम्मेदवारलाई काखापाखा नगर्ने तर आदिवासी जनजातिको मुद्दामा प्रतिबद्धता लिने उद्देश्यले अन्तरक्रिया गर्न लागिएको जनाइएको छ ।

 

झापा क्षेत्र नं. १ मा १७ गते काँकरभिट्टामा, २ मा १९ गते बिर्तामोडमा, ३ मा २० गते भद्रपुरमा, ४ मा २३ गते सुरुङ्गामा र झापा क्षेत्र नं ५ मा २२ गते पाडाजुँगी (कमल ५) मा हुने आयोजकले जनाएको छ ।

 

महासंघ झापा अध्यक्ष चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव लक्ष्मण श्रेष्ठले गरेका थिए । कार्यक्रममा आयोजकले आफ्ना हक अधिकारका विषयमा राजनीतिक दललगायत स्वतन्त्रका उम्मेद्वारले के कस्तो अवधारणा लिएका छन् भन्नेबारे प्रश्न राख्नसक्ने बताइएको छ ।