खेलकुद

भुटानमाथि नेपाली चेलीको गोल वर्षा !

By admin

November 03, 2022

झापा । नेपालले बंगलादेशमा जारी यू-१५ महिला साफ च्याम्पियनसिप फुटबलमा विजयी सुरुआत गरेको छ । ढाकामा बिहीबार भएको खेलमा भुटानलाई ७-० गोलको फराकिलो अन्तरले हराउँदै नेपालले सुखद सुरुआत गरेको हो ।

 

नेपालको फराकिलो जितमा वर्षा ओलीले ४ गोल गरिन् । शुक्रिया मियाँले दुई तथा सेनु परियारले एक गोल गरिन् । १० खेलाडीमा समेटिएको भुटानविरुद्ध नेपालले पहिलो हाफमै ४ गोल गरेको थियो ।

 

पहिलो मिनेटमा वर्षाले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएकी थिइन् । १७औं मिनेटमा वर्षाले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाईन् । खेलको ३४ औं मिनेटमा वर्षाले ह्याट्रिक पूरा गर्दा नेपालको अग्रता तेब्बर बन्यो ।

 

लगत्तै ३५ औं मिनेटमा वर्षाले व्यक्तिगत चौंथो गोल गर्दै नेपाललाई ४-० को अग्रता दिलाईन् । ६५ औं मिनेटमा शुक्रियाले गोल गर्दा नेपालको अग्रता ५-० को बन्यो । खेलको ६७ औं मिनेटमा भुटान १० खेलाडीमा समेटियो । डिबक्स भन्दा बाहिर आएर बल रोकेपछि भुटानी गोलकिपर दिक्षिता राईले रातो कार्ड प्राप्त गरिन् ।

 

खेलको ७२ औं मिनेटमा शुक्रियाले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ६-० को अग्रता दिलाईन । त्यसपछि खेलको ८५ औं मिनेटमा सेनुले गोल गर्दै नेपाललाई ७(० को जित दिलाईन् ।

 

जितसँगै नेपालले पहिलो खेलमै ३ अंक जोडेको छ । नेपाल दोस्रो स्थानमा रहेको छ । भुटानको यो लगातार दोस्रो हार हो । उद्घाटन खेलमा भुटानलाई बंगलादेशले ८-० गोल अन्तरले हराएको थियो ।

 

अब नेपालले दोस्रो खेलमा बंगलादेशसँग शनिबार खेल्नेछ । च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल र भुटानको सहभागिता रहेको छ । डबल राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।