समाज

बिर्तामोडका भट्टराई परिवारद्वारा अर्जुनधारामा करोडको मन्दिर हस्तान्तरण

By admin

November 04, 2022

बिर्तामोड । झापा बिर्तामोडका भट्टराई परिवारले आफन्तको स्मृतिमा १ करोड मूल्य खर्च गरेर मन्दिर निर्माण गरिदिएका छन् । अर्जुनधारा नगरपालिका ९ मा रहेको श्री पवित्र हरि मन्दिर तथा श्री हरिभक्त सेवा संघ शाखालाई बिर्तामोडका भट्टराई परिवारले आफन्तको स्मृतिमा मन्दिर निर्माण गरी हस्तान्तरण गरेका हुन् ।

 

दिवंगत श्रीमान तथा बुबा देवीप्रसाद भट्टराईको स्मृतिमा परिवारले हरिभक्त सेवा संघलाई एक करोडको लागतमा मन्दिर निर्माण गरी बिहीबार एक कार्यक्रमका बीच हस्तान्तरण गरेका हुन् ।

 

दिवंगत भट्टराईकी पत्नी श्रीमाया भट्टराई तथा छोरा निर्मल भट्टराई, बुहारी सुमित्रा भट्टराईले अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेव सिंह गोम्दन, वडा नं ९ का वडाध्यक्ष भीष्म मिश्रलाई भवन र जग्गाको कागजात प्रदान गर्दै मन्दिर हस्तान्तरण गरेका हुन् । यसअघि मन्दिर परिसरमा निर्माण गरिएको शिलालेखको संयुक्तरुपमा अनावरण गरिएको थियो ।

 

नवनिर्मित भवनका लागि स्व. देवीप्रसादले २ कठ्ठा १ धुर जग्गादान दिएका थिए । सो जग्गामा मन्दिर निर्माण गर्ने सोचका साथ भवन बनाए पनि उनको २०७७ कात्तिक १७ गते कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको थियो ।

 

 

पिता देवीप्रसादले आफ्नो माता–पिता कर्णबहादुर र खिनमायाको स्मृतिमा मन्दिर निर्माण गर्ने सोच बनाउनु भएको छोरा निर्मल भट्टराईले बताए । बुबाको सामाजिक सपनालाई आफ्नो परिवारले ढिलै भए पनि पूरा गरिदिएको भट्टराईले बताए । ‘बुबाले मन्दिर बनाउने उद्देश्यले जग्गासमेत व्यवस्थापन गर्नुभएको थियो’, उनले भने, ‘उहाँको सोचलाई हामीले मूर्तरुप दिएका हौं ।’

 

उनले बुबाको सपना पूरा गर्न मन्दिर निर्माणमात्र गरेनन् । बुबाको स्मृतिमा ५० लाखको अक्षयकोष स्थापना गर्न लागिएको घोषणासमेत गरे । कोषबाट प्राप्त रकम विपन्न समुदायको स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा खर्च गरिने र क्रमशः कोषलाई एक करोडको बनाइने उनको भनाइ छ । अक्षयकोषबाट विपन्न बृद्धबृद्धा, विपन्न परिवारका विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि सहयोग गरिने उनले बताए ।

 

आफू र आफ्नो परिवारको तर्फबाट जग्गासहित मन्दिरको सभा हलसहितको भवन निर्माण गरिएको उल्लेख गर्दै भट्टराईले माथिल्लो तलामा गजुरसहितको मन्दिर निर्माणमा नगरपालिका र वडा कार्यालयले सहयोग गर्ने अपेक्षा राखे ।

 

युवा व्यवसायी तथा समाजसेवी निर्मल भट्टराई उनकी श्रीमती सुमित्रा र आमा श्रीमाया भट्टराईले उक्त जग्गाको धनीपूर्जा वडा ९ का वडाध्यक्ष भीष्म मिश्र, नगर प्रमुख बलदेव सिंह गोम्देन तथा मन्दिरको अध्यक्ष शान्ता विष्टलाई हस्तान्तरण गरेका थिए ।

 

 

कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख गोम्देनले सक्षम समाज निर्माणमा धर्मको योगदान उच्च हुने बताए । धर्मले मानिसलाई अनुशासित र समक्ष बनाउन मद्दत गर्ने समेत उल्लेख गरेका उनले “समाजलाई समृद्धि बनाउन धर्मको महत्वपूर्ण योगदान रहेका भन्दै भट्टराई परिवारले मन्दिर निर्माण गरेकोमा सराहना गर्दै मन्दिरको थप विकास लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

 

कार्यक्रममा ६५ जना ज्येष्ठ नागरिकलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा विशेष अतिथि वडाध्यक्ष भीष्म मिश्र, सामाजिक धार्मिक व्यक्तित्व सत्यनाथ भट्टराई, मन्दिर व्यवस्थापन समिति अध्यक्ष लक्ष्मी बस्नेत लगायतले शुभकमना मन्तव्य राखेका थिए ।