खेलकुद

रेफ्री स्मृति फुटबलः निखिलको ह्याट्रिकले शनिश्चरे फाइनलमा

By admin

November 04, 2022

शनिश्चरे । झापाको अर्जुनधारा ९ स्थित कालिस्थान माविको खेलमैदानमा जारी एन्फा रेफ्री स्व खेम तामाङ स्मृृति फुटबल प्रतियोगितामा शुक्रबारको खेलबाट शनिश्चरे एफसी फाइनलमा प्रवेश गरेको छ । शनिश्चरेका निखिल तामाङको ह्याट्रिकसँगै फाइनलमा स्थान पक्का गरेको हो ।

 

प्रतियोगिताको पहिलो सेमिफाइनलमा कप्तान कर्ण लिम्बू नेतृत्वका ब्रदर्श युनाइटेड क्लब चन्द्रगढीलाई ४-१ गोलले पराजित गर्दै शनिश्चरेले फाइनलमा स्थान सुरक्षित गरेको हो ।

 

पहिलो हाफको ४ मिनेटमै १-० गोलले पछि परेको अवस्थालाई उल्टाउँदै शनिश्चरेले बाजी मारेको हो । पहिलो हाफको ४ मिनेटमा चन्द्रगढीका हिरण राजवंशीले गोल गर्दै अग्रता दिलाएका थिए ।

 

तर, शनिश्चरेका खेलाडीले पहिलो हाफमै नतिजा उल्टाउँदै खेलमा बराबरी गर्न सफल भए । शनिश्चरेका लागि निखिल तामाङले ७औँ मिनेटमा गोल गरेर बराबरी गरे भने उनैले ३९औँ र ४९औँ मिनेटमा गोल गरेर प्रतियोगिताकै पहिलो ह्याट्रिक पूरा गरे ।

 

 

यसअघि शनिश्चरेकै देवेन्द्र तामाङले फ्रिकिकमार्फत उत्कृष्ट गोल गरेर २ १ गोलको अग्रता दोब्बर बनाएका थिए । त्यस्तै, म्यान अफ दी म्याच बनेका शनिश्चरे एफसीका निखिलले विपक्षी चन्द्रगढीका ८ जनाले बनाएको मानव पर्खाललाई चिर्दै आकर्षक गोल गरेका थिए ।

 

आजको खेलको म्यान अफ अफ दी म्याच शनिश्चरेका निखिल तामाङ घोषित भए । उनले नगद १५ सय पाए । उनलाई इलाम जिल्ला फुटबल संघका उपाध्यक्ष डिडेन देवान, अर्जुनधारा नगरपालिकाका मेयर बलदेव सिंह गोम्देनलगायतले पुरस्कार प्रदान गरेका थिए ।

 

भोलि आयोजक मनास्लु युथ क्लब र बिर्तामोड युनाइटेड एफसीबीच अन्तिम सेमिफाइनल खेल हुनेछ । विजेताले नगद ५० हजार र उपविजेताले नगद २५ हजार पाउनेछ । त्यस्तै, ५ विधाका खेलाडीले जनही २ हजार तथा प्रत्येक खेलको म्यान अफ दी म्याच बन्ने खेलाडीले नगद १५ सय पाउने छन् ।

 

२०२३ साल फागुन ३ गते जन्मिएका एन्फा रेफ्री स्व खेम तामाङको गत जेठ १२ गते निधन भएको थियो । उनै एन्फा रेफ्री तामाङको स्मृतिमा स्थानीय मनास्लु युथ क्लबद्वारा आयोजित प्रतियोगितामा झापा जिल्ला रेफ्री संघ तथा झापा जिल्ला फुटबल संघको प्रत्यक्ष सहयोग रहेको छ ।