अर्थ बजार

२ अर्ब रुपैयाँको हतियार किन्दै सेना

By admin

November 06, 2022

काठमाडौं । नेपाली सेनाले २ अर्ब रुपैयाँको हतियार खरिद प्रक्रिया अघि बढाएको छ। सेनाले अमेरिकाबाट कोल्ट कमान्डो सिरिजको हतियार ल्याउने प्रक्रिया अघि बढाएको स्रोतको दाबी छ।

 

यसअघि नेपाल प्रहरीले १ अर्ब ३५ करोड रुपैयाँको हातहतियार खरिद गर्न लागेको थियो। त्यसमध्ये ८४ करोड रुपैयाँको हतियार खरिद प्रक्रिया अघि बढेको भए पनि विरोध भएपछि रोकियो । नेपाली सेनालाई भने सरकारले २ अर्ब रुपैयाँबराबरको हतियार खरिद गर्न स्वीकृति दिएपछि नेपाल ल्याउने तयारी भएको छ।

 

‘सरकारसँग डलर अभावका कारण केही ढिलाइ भएको हो, सरकारले अमेरिका पठाउने डलर व्यवस्था गर्नासाथ हतियार नेपाल आउनेछ’, स्रोतले भन्यो । दुई अर्ब रुपैयाँबराबरको विदेशी मुद्रा अमेरिका पठाउन अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकको पछिल्लो निर्देशनका कारण बाधा परेपछि रोकिएको सेनाले जनाएको छ।

 

‘हतियार खरिद गर्ने स्वीकृति दिइसकिएको छ, सेनाले अमेरिकाबाट हतियार ल्याउने प्रक्रिया पनि सुरु गरिसकेको छ तर डलर अभावले केही समय रोकिएको हो,’ अर्थ मन्त्रालयका एक अधिकारीले भने।

 

आगामी निर्वाचन र बंकर टु ब्यारेकका निम्ति सरकारले सेनालाई छुट्याएको बजेट प्राप्त नभएको विषयमा पनि सेनाले अर्थ मन्त्रालयसँग ताकेता गरेको मन्त्रालय स्रोतले जनाएको छ।

 

सेनाले ६ हजार थान एम-१६, एम-४ हतियार र पेस्तोल किन्ने प्रक्रिया अघि बढाएको स्रोतको दाबी छ। राष्ट्रिय सुरक्षालाई कारण देखाएर सेनाले यो खरिद प्रक्रियालाई अति गोप्य राखेको थियो। आजको नागरिक दैनिकमा समाचार छ ।