समाज

ताप्लेजुङको सिदिङ्वामा भालुको आक्रमणबाट एक युवक घाइते

By admin

November 07, 2022

ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा भालुको आक्रमणबाट एक युवक घाइते भएका छन् । जङ्गली भालुको आक्रमणबाट सिदिङ्वा गाउँपालिका ३ आङ्खोप खर्कगाउँका २१ वर्षीय फुर्वा तामाङ घाइते भएका हुन् ।

 

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार तामाङलाई शनिबार दिउँसो भालुले आक्रमण गरेको थियो । भालुको आक्रमणबाट तामाङको अनुहार र टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । घाइते तामाङको स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि शनिबार नै झापामा रहेको बीएन्डसी अस्पतालमा पुर्याएर थप उपचार सुरु गरिएको छ ।

 

शनिबार गाउँ नजिक गुम्बाडाँडा क्षेत्रमा मालिङ्गो सङ्कलन गर्न गएको समयमा तामाङलाई भालुले आक्रमण गरेको सिदिङ्वा गाउँपालिकाकी उपाध्यक्ष कृष्णकुमारी कडरियाले जानकारी दिइन् । उपाध्यक्ष कडरियाका अनुसार तामाङसँगै मालिङ्गो सङ्कलन गर्न गएका अन्य दुईजना भने सकुसल जङ्गलबाट फर्किएका थिए ।