झापा । नेपालले बंगलादेशमा आयोजना भएको साफ यू १५ महिला च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । ढाकामा शुक्रबार डबल राउण्ड रोबिन लिगको अन्तिम खेलमा बंगलादेशसँग १-१ गोलको बराबरी खेल्दै नेपाल च्याम्पियन बनेको हो ।
रोमान्चक खेलमा सुरुआती अग्रता भने नेपालले बनाएको थियो । खेलको १४ औं मिनेटमा सुशिला केसीले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । रानी बहादुर कानोनको कमजोर क्लिरेन्सलाई नियन्त्रणमा लिदै सुशिलाले पेनाल्टी बक्सबाहिरबाट गरेको प्रहारले जाली चुम्दा बंगलादेशकी गोलरक्षक सोंगिता रानी दासले बचाउन सकिनन् ।
२३औं मिनेटमा जोनोव विवि रिताको कर्नरलाई कप्तान रुमा अख्तेरले गरेको हेडर प्रयासलाई सिमरन राईले गोललाईनबाट हेडमार्फत क्लियर गर्दै नेपालको अग्रता कायम राखे । तर, खेलको ५४ औं मिनेटमा रुमाले गोल गर्दै बंगलादेशलाई १-१ गोलको बराबरीमा ल्याईन् ।
त्यसपछि खेलको ८९ औं मिनेटमा बंगलादेशले पेनाल्टी प्राप्त गर्यो । तर, बंगलादेशक्की बीबी रिताको पेनाल्टी नेपालकी गोलकिपर सुजाता तामाङले उत्कृष्ट बचाउ गरिन् ।
बराबरीसँगै नेपालले ४ खेलमा अपराजित रहदै १० अंक जोड्यो । र, शीर्ष स्थानमा रहदै नेपालले उपाधि उचालेको हो । बंगलादेश ४ खेलमा ७ अंक जोडेर उपविजेता बन्यो ।