समाज

अमेरिकामा निधन भएकी बर्खाको स्मृतिमा प्रतिष्ठान

By admin

November 26, 2022

झापा । अमेरिकामा सवारी दुर्घटनामा निधन भएकी झापा बुधबारेकी बर्खा प्रसाईको स्मृतिमा ५० लाखको अक्षयकोषसहित प्रतिष्ठान स्थापना गरिएको छ । झापाको बुधबारेमा स्थापना गरिएको प्रतिष्ठान व्यवस्थापनका लागि २० लाख रुपैयाँ छुट्याइएको छ ।

 

आपत विपत् परेकाहरुलाई सहयोग गर्ने साथै बालबालिकाहरुको शिक्षा, स्वास्थ्य लगायतका सामाजिक क्षेत्रमा कार्य गर्ने उद्देश्यले बुद्धशान्ति गाउँपालिकाको बुधबारेमा बर्खा स्मृति प्रतिष्ठान स्थापना गरिएको हो । माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइरालाले आज रामजानकी मन्दिरमा आयोजित कार्यक्रमका बीच प्रतिष्ठानको औपचारिक उद्घाटन गरिन् ।

 

प्रतिष्ठानका अध्यक्ष मदनकुमार प्रसाईको अध्यक्षता, माइती नेपालकी संस्थापक अध्यक्ष कोइरालाको प्रमुख आतिथ्य तथा जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख, तीनवटै सुरक्षा निकायका प्रमुखलगायत विभिन्न सामाजिक व्यक्तिको उपस्थितिमा ७० लाख पुँजी रहेको उक्त प्रतिष्ठानको उद्घाटन गरिएको थियो । प्रतिष्ठानका सचिव मदन मगरले स्वागत गरेका थिए ।

 

आप्रवासीहरुको क्षेत्रमा काम गर्ने संस्था आईओएममा जोडिएर कामको शिलशिलामा अमेरिकामा रहेकी बर्खाको केही समयअघि ट्राफिक लाइटमा भएको प्राविधिक त्रुटिका कारण कारको ठक्करबाट अमेरिकामा नै मृत्यु भएको थियो ।

 

मदर टेरेसा र अनुराधा कोइरालाको मानव सेवाको कार्यबाट प्रभावित रही सामाजिक कार्यमा सक्रिय रहेकी बर्खाको अल्पायुमा नै मृत्यु भएकोले उनकै सम्झनामा प्रतिष्ठान खोलिएको प्रतिष्ठानका अध्यक्ष प्रसाईले जानकारी दिए । हाल प्रतिष्ठानको उपाध्यक्षमा हेमबहादुर प्रसाई, सचिवमा मदन मगर, सहसचिवमा अम्बिका घिमिरे प्रसाई, कोषाध्यक्षमा शकुन्तला अधिकारी र सदस्यहरुमा मनोज प्रसाई, धर्म कँडरिया, प्रल्हाद खड्का र पवित्रामाया थापा खड्का रहेका छन् ।

 

विसं २०३८ सालमा पिता भक्तबहादुर र माता पूर्णिमा खड्काकी सन्तानका रुपमा जन्मिएकी बर्खा खड्का २०७२ सालमा बुद्धशान्तिकै समाजसेवी मदन प्रसाईसँग वैवाहिक जीवनमा बाँधिएकी थिइन् ।