खेलकुद

स्पेन र जर्मनीको बराबरी, क्रोएसियाको जितमा क्यानडा बाहिरियो

By admin

November 28, 2022

झापा (एजेन्सी) । कतारमा जारी फिफा विश्वकप फुटबलमा स्पेन र जर्मनीले बराबरी खेल्दै अंक बाडेका छन् । आइतबार राति भएको खेलमा स्पेन र जर्मनीले १-१ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् । प्रतिस्पर्धात्मक खेलको ४० औं मिनेटमा एन्टोनी रुडिगरले जर्मनीका लागि गोल गरेका थिए । तर, भीएआरले अफसाइड देखाएपछि उनको गोलले मान्यता पाएन । खेलको ६२औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई १-० को अग्रता दिलाएका थिए।

 

त्यसपछि खेलको ८३ औं मिनेटमा निकलस फूलक्रुगले गोल गर्दै जर्मनीलाई १-१ गोलको बराबरी ल्याए । यस बराबरीसँगै समूह ‘ई’ बाट दुबै टोलीको नकआउट सम्भावना कायम रहेको छ । स्पेनले २ खेलमा ४ अंक जोडेको छ । स्पेन शीर्ष स्थानमा रहेको छ । जर्मनी २ खेलमा १ अंक जोडेर पुछारमा रहेको छ ।

 

यसैबीच, क्रोएसियाले पहिलो जित निकालेको छ । खालिफा अन्तराष्ट्रिय स्टेडियममा आइतबार राति क्यानडालाई ४-१ गोल अन्तरले हराउँदै क्रोएसियाले पहिलो जित निकालेको हो । क्रोएसियाको जितमा आन्द्रेज क्रमारिचले दुई गोल गरे ।

 

मार्को लिभाजा र लेभ्रो माजेरले एक एक गोल गरे । क्यानडाका अल्फान्सो डाभिसले एक गोल फर्काए । खेलमा सुरुआती अग्रता भने क्यानडाले बनाएको थियो । दोस्रो मिनेटमा डाभिसले गोल गर्दै क्यानडालाई अग्रता दिलाएका थिए ।

 

तर, ३६ औं मिनेटमा क्रमारिचले गोल गर्दै क्रोएसियालाई १-१ गोलको बराबरीमा ल्याए । ४४ औं मिनेटमा लिभाजाले गोल गर्दै क्रोएसियालाई २-१ को अग्रता दिलाए । खेलको ७०औं मिनेटमा क्रमारिचले व्यक्तिगत दोस्रो गोल गर्दै क्रोएसियालाई ३-१ को अग्रता दिलाए ।

 

त्यस्पपछि खेलको इन्जुरी समयमा माजेरले गोल गर्दै क्रोएसियालाई ४-१ को जित दिलाए । जितसँगै समूह ‘एफ’ को क्रोएसियाले २ खेलमा ४ अंक जोडेको छ । क्रोएसिया शीर्ष स्थानमा रहेको छ । क्यानडाको यो लगातार दोस्रो हार हो । क्यानडा पुछारमा रहेको छ । क्यानडा प्रतियोगिताबाट बाहिरिएको छ।