अर्थ बजार

फेरि घट्यो अलैँचीको मूल्य !

By admin

December 10, 2022

झापा । अलैँचीको मूल्यमा गिरावट आएको छ । एक हप्ता अघिसम्म झापाको बिर्तामोडमा प्रतिमन २६ हजार रुपैयाँका दरले अलैँचीको कारोबार भएकामा अहिले २४ हजार रुपैयाँमा झरेको छ ।

 

यो वर्षको नयाँ उत्पादन सुरु हुँदा २८ देखि २९ हजार रुपैयाँका दरले समेत कारोबार भएको थियो । क्रमशः मूल्य घटेर अहिले २४ हजारमा झरेको अलैँची व्यवसायीले बताएका छन् । यो वर्ष अलैंचीको माग न्यून भएकाले पनि मूल्य बढ्न नसकेको अलैँची व्यवसायी नरेन्द्र तिवारीले बताए ।

 

पछिल्लो समय अलैँचीको उत्पादनमा वृद्धि भएको तर माग न्यून भएकाले मूल्य नबढेको उनको तर्क छ । उनले यस वर्ष झन्डै चार सय मन अलैँची जम्मा गरेका छन्। जसमध्ये आधा जसो २९ हजार रुपैयाँका दरले किसानबाट लिइसकेका छन् । बजार र मूल्य नभएपछि सबै अलैँची गोदाममै थन्क्याएर राखेको उनले बताए ।

 

यता किसानले समेत मूल्य पर्खिएर बसेका छन् । आफूले उत्पादन गरेको अलैँची साहुलाई जिम्मा लगाए पनि मूल्य बढ्ला भनेर भाउ काटेका छैनन् । मूल्य तलमाथि भइरहने भएकाले अन्योल हुने गरेको सिरीजङ्घा ७ खेवाङका किसान राजकुमार भट्टराईले बताए ।

 

अलैँचीको बजारका लागि भारतकै भर पर्नुपर्ने भएकाले ठूला व्यापारी पनि समस्यामा परेका छन् । गतवर्ष प्रतिमन ४८ हजार रुपैयाँका दरले समेत कारोबार भएको थियो । त्यसयता क्रमिक रुपमा मूल्य घट्दै गइरहेको व्यवसायीले बताएका छन् ।