खेलकुद

बिर्तामोडलाई हराउँदै धरान फाइनलमा

By admin

December 12, 2022

बिर्तामोड । सुनसरीको धरान सिटी एफसी झापाको डोमालाल राजवंशी रंगशालामा जारी एनी बिर्तामोड युनाइटेड इण्डो नेपाल च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा आयोजक बिर्तामोड युनाइटेड एफसीलाई टाइब्रेकरमा पराजित गर्दै धरान फाइनलमा प्रवेश गरेको हो ।

 

निर्धारित समयमा दुवै टोलीले २-२ गोलको बराबरी खेलेका थिए । तर, टाइब्रेकरमा धरानले बिर्तामोडमाथि बाजी मारेको हो । टाइब्रेकरमा ४-२ गोलअन्तरले धरान विजयीहुँदै फाइनलमा प्रवेश गर्यो । फाइनलमा धरानले इलामको रेडहर्ष एफसीसँग उपाधि रक्षाका लागि खेल्नेछ ।

 

रोमाञ्चक खेलमा गोलको खाता धरान सिटी एफसीले खोलेको थियो । खेलको ३०औँ मिनेटमा धरानका निशाल लिम्बूले आकर्षक गोल गरेका थिए । बिर्तामोडका कप्तान आशिष चापागाईंले खेलको ४४औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

 

त्यस्तै, खेलको ५८औँ मिनेटमा बिर्तामोडका देवेन्द्र तामाङले गोल गर्दै २-१ को नतिजा निकालेर अग्रता दोब्बर बनाएका थिए । तर, धरानका विवेक राईले खेलेको ६१औँ मिनेटमा सम्झनलायक गोल गरेर खेलमा फर्काए ।

 

बिर्तामोडका कप्तान आशिष चापागाईंले प्रहार गरेको बल धरानको गोलपोस्टमा लागेर फर्किंदा फाइनल यात्रामा पूर्णविराम लागेको थियो । यस्तै, थुप्रै अवसर दुवै टोलीले खेर फ्याँकेका थिए । टाइब्रेकरमा आशिष चापागाईंको प्रहार धरानका गोलरक्षक आशिष कार्कीले रोकेका थिए भने अभिषेक गुरुङको प्रहार आकाशिएको थियो ।

 

अब बुधबार इलाम र धरानले फाइनल खेल खेल्नेछन् । आजको खेलको म्यान अफ दी म्याच धरानका गोलरक्षक आशिष कार्की भए । उनलाई खेलप्रेमी दिनेश चापागाई र झापा गोल्डकप समितिका अध्यक्ष विनोद बस्नेतले नगद २ हजार ५ सय र ट्रफी प्रदान गरे ।

 

मंसिर २८ गते हुने फाइनल खेलको विजेताले नगद २ लाख २२ हजार र उपविजेताले नगद १ लाख ११ हजार र ट्रफीमा चित्त बुझाउनेछ । व्यक्तिगत विधाका खेलाडीले जनही नगद ५ हजार पाउँदा उत्कृष्ट खेलाडीले नगद १५ हजार पाउने छ ।