शिक्षा

स्वस्तिकामा एनसीसी ४८औं ब्याचको प्रदर्शनी

By admin

December 20, 2022

शनिश्चरे । झापा अर्जुनधारा ८ मा रहेको स्वस्तिका शिशु सदन अङग्रेजी माध्यमिक विद्यालयमा तालिमरत राष्ट्रिय सेवा दल (एनसीसी)का लागि छनौट भएको ४८औं ब्याच जुनियर डिभिजनको प्रदर्शनी मंगलबार सम्पन्न भएको छ । नयाँ श्रीनाथ गण चारआलीका सेनानी अभिषेक विष्टको प्रमुख आतिथ्यमा आयोजित एक समारोहका बीच तालिमसहितको प्रदर्शनी सम्पन्न भएको हो ।

 

विद्यालयकी संस्थापक एवम् विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष इश्वरा श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा तालिमका सहभागी प्रशिक्षार्थीहरुले मार्चपास, तेक्वान्दो, खुकुरी ड्रिल र एरोविक्स प्रस्तुत गरेका थिए । कक्षा ८, ९ र १० का ३६ विद्यार्थी एनसीसीमा सहभागी छन् ।

 

गत मंसिर १७ गते सम्पन्न भएको उक्त तालिमका सहभागीहरुको बाँकी तालिमहरु १६ दिन मोरङको याङसिलास्थित पूर्वी तालिम शिक्षालयको सामुहिक क्याम्पमा सञ्चालन हुने एनसीसी तालिमका प्रशिक्षक जनक शिवाकोटीले जानकारी दिए ।

 

विद्यालयका प्रधानाध्यापक खम्बसिंह बस्नेतले स्वागत गरेको कार्यक्रममा निजी तथा आवासिय विद्यालय संगठन (प्याब्सन) झापाका अध्यक्ष गौरीमान फागो, शिक्षक अभिभावक संघका अध्यक्ष दिपीन राईलगायतले मन्तव्य राखेका थिए । उक्त कार्यक्रमको सञ्चालन शिक्षक सीपी सुवेदीले गरेका थिए ।

 

 

दोस्रो पटक एनसीसीका लागि छनौट भएको विद्यालयको ४८औं ब्याच जुनियर डिभिजनमा १८ जना छात्र र १८ जना छात्रासहित जम्मा ३६ जना सहभागी छन् ।