खेलकुद

आज भुटनिज युथ र आयोजक उपाधि भिडन्तमा

By admin

December 22, 2022

झापा । झापाको अर्जुनधारामा आयोजित दोस्रो नमुना च्यालेन्ज कपको उपाधिका लागि आज पाहुना टोली अमेरिकाको भुटनिज युथ स्पोर्टस क्लब (बीवाईएससी) र आयोजक नमुना फुटबल क्लब प्रतिस्पर्धा गर्दैछन् ।

 

अर्जुनधारा ९ स्थित नमुना खेलमैदानमा आयोजित प्रतियोगितामा सुनाकोठी सिटी एफसीमाथि कठिन जित निकाल्दै बीवाईएससीले फाइनल यात्रा तय गरेको थियो । उसका लागि प्रविण बस्नेतले गरेको गोल नै निर्णायक बनेको थियो ।

 

क्वाटरफाइनल खेलमा बीवाईएससीले टाइब्रेकरमा ४-३ गोलअन्तरले इलामको रेडहर्ष एफसीलाई पराजित गर्दै बाजी मारेको हो । खेलको निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

 

यस्तै, सेमिफाइनल खेलमा आयोजक नमुना एफसीले धरानको एन्फा एकाडेमीलाई २-० गोलले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो । आयोजकका लागि दुवै गोल देवेन्द्र तामाङले गरेका थिए ।

 

क्वाटरफाइनल खेलका आयोजकले पाहुना टोली भारत सिलिगुडीको एबी फुटबल सीसीको गोलपोस्टमा गोल वर्षा गरेको थियो । आयोजकले खेलमा ७-० गोलको अन्तर निकाल्दै अन्तिम चारमा स्थान बनाएको थियो ।

 

नेपाल, भारत र अमेरिकाका ८ टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार १११ पाउँदा उपविजेताले नगद ५१ हजार १११ र ट्रफी पाउने आयोजकले जनाएको छ ।