अर्जुनधारा । झापाको पुरानो बजार शनिश्चरेदेखि खुदुनाबारी जोड्ने सडकमा कालोपत्रे गर्ने काम आजदेखि सुरु भएको छ । शनिश्चरेदेखि नारायण चोक उत्तरतर्फको करिब सवा किलोमिटर सडक कालोपत्रे गर्न सुरु गरिएको हो ।
वर्षौंअघि नै उक्त सडकमा कालोपत्रेका लागि ठेक्का लागे पनि विभिन्न अवरोधका कारण कालोपत्रे हुन बाँकी रहेको थियो । नारायणचोक उत्तरतर्फ खुदुनाबारीसम्म यसअघि नै कालोपत्रे भइसकेको छ ।
शनिश्चरे बजारको मुख्य चोक क्षेत्रमा घरधनीले आवश्यक बाटो नछोड्दा कालोपत्रे कार्य रोकिएको थियो । कहिले घरधनीका कारण, कहिले ठेकेदारका कारण कालोपत्रे हुन नसक्दा स्थानीय धुलो र धुवाँबाट आजित बनेका थिए । (तस्वीरः विष्णु कुल)
स्थानीय बासिन्दाले यस सडकमा दर्जनौँ पटक सडक नबनेको भन्दै दबाब दिन बाँसको ढाट विभिन्न स्थानमा लगाउँदै आएका थिए । पुराना जनप्रतिनिधिकै समयमा कालोपत्रे हुन नसकेको सडक नयाँ जनप्रतिनिधिको पहलमा काम सुचारु भएको बताइएको छ ।
बजेट अभाव देखाएर कालोपत्रे बनाउने जिम्मा पाएको निर्माण कम्पनीका ठेकेदार फुर्तेम्वा शेर्पा सम्पर्कमा नआएका कारण पनि कालोपत्रे हुने कार्य रोकिएको थियो ।