समाज

निराकारको त्याे अन्तिम भिडियो कल…

By admin

December 30, 2022

झापा । कम्बोडियाको एक होटलमा आगलागीका क्रममा ज्यान गुमाएका झापा बिर्तामोडका निराकार पाण्डे घुमफिरका लागि थाइल्याण्ड गएका थिए । परिवारका अनुसार उनी तीन महिनाका लागि घुम्न गएका थिए ।

 

गत कात्तिकको २१ गते थाइल्याण्ड गएका पाण्डे घुमफिरकै क्रममा कम्बोडिया पुगेको बुझिएको छ । उनको परिवार केहि वर्षदेखि काठमाडौंस्थित सुकेधारा बस्दै आएको थियो । निर्माण व्यवसायको क्षेत्रमा काम गर्दै आएका पाण्डे ३ महिने प्याकेजमा थाइल्याण्ड गएको बुझिएको छ ।

 

थाइल्याण्ड गएको दुई महिना पुग्न लागेको थियो । तीन महिनापछि घर फर्किने योजनासहित थाइल्याण्ड गएका पाण्डे होटलमा आगलागी भइरहँदा १२ तलामाथिबाट हामफाल्दा ज्यान गएको अन्तराष्ट्रिय समाचारमाध्यमले जनाएको छ ।

 

उनको श्रीमती र ९ वर्षीय छोरासहित काठमाडौं बसेर निर्माण व्यवसायको क्षेत्रका काम गरिरहेका थिए । काठमाडौं बसेर पनि बिर्तामोड बाक्लै आइरहने नातामा दाजुपर्ने खगेन्द्र उप्रेतीले जानकारी दिए । उनी चुनावको बेला पनि बिर्तामोड आएका थिए ।

 

उनका अनुसार पाण्डेको शव नेपाल ल्याउन सोमवार देखि प्रक्रिया शुरु गरिने भएको छ । कम्बोडियाको होटलमा भएको आगलागीमा फसेको थाहा भएपछि राति ११ बजे परिवारलाई भिडियो कलमार्फत जानकारी गराएका थिए ।

 

उनी होटलमा फसेको बेला झ्यालमा बसेर रेकर्ड गरेको भिडियो परिवारलाई पठाएका छन् । उक्त भिडियोले संसारभरका नेपालीलाई विक्षिप्त बनाएको छ ।

 

भिडिओमा उनले आफ्ना परिवारलाई सम्बोधन गरेका थिए । भावुक बनाउने उक्त भिडिओमा छोरालाई धेरै समय सम्झाएका छन् । जहिले पनि बुबाले माया गरिरहने बताइरहेका उनले आफ्ना नाता गोतासँग गरिने व्यवहार सरल र सम्मानपूर्वक हुन सुझाएका छन् ।

 

बेला बेला आउने धुँवाको मुस्लोको बेपर्वाह गरिरहेका उनले धेरैपटक छोरालाई जहिल्यै पनि माया गरिरहने बताइरहेको भिडिओ सार्वजनिक भएपछि चिन्ता व्यक्त गर्दै परिवारजनप्रति समवेदना व्यक्त गरिरहेका छन् ।