खेलकुद

धरानलाई हराउँदै आयोजक बन्याे कनकाई भेट्रान कप च्याम्पियन

By admin

January 01, 2023

झापा । झापाको कनकाईमा आयोजित दोस्रो कनकाई भेट्रान कपको उपाधि आयोजक कनकाई भेट्रान क्लब सुरुङ्गाले जितेको छ । शनिबार भएको फाइनल खेलमा धरान भेट्रान क्लबलाई ४-२ गोलअन्तरले हराउँदै आयोजक विजयी भएको हो ।

 

उपाधिसहित आयोजकले नगद १ लाख १ हजार रुपैयाँ प्राप्त गरेको छ । उपविजेता धरानले ६१ हजार नगदमा चित्त बुझाएको थियो । प्रतिस्पर्धात्मक खेलमा धरानले २-० गोलको सुरुवाती अग्रता लिएको थियो ।

 

आयोजक कनकाईको टिम २-० गोल अन्तरले पछाडि परेको अवस्थामा रोमाञ्चक कमब्याक गरेर उपाधि रक्षा गरेको हो । आयोजकका तर्फबाट सुजितकुमार राईले २ गोल गरे । बाँकी गोल दिलकुमार राई र विनोद बान्तवाले गरेका थिए । पराजित धरानका तर्फबाट दुवै गोल रमेश गुरुङले गरे ।

 

प्रतियोगिताको म्यान अफ द सिरिज आयोजक टिमका विमल गुरुङ भए । प्रतियोगिताको उत्कृष्ट गोलकिपर आयोजकका किरण वडुवा, सर्वाधिक गोलकर्ता आयोजककै सुजितकुमार राई भए ।

 

विजेता तथा उपविजेता टिमलाई कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, समाजसेवी शेरबहादुर थापा लगायतले पुरस्कार प्रदान गरेका थिए । प्रतियोगिताको सभापतित्व क्लबका अध्यक्ष श्यामकुमार राईले गरेका थिए । सो प्रतियोगितामा प्रदेश १ का ८ टिमको सहभागिता रहेको थियो ।