खेलकुद

पोखरा गोल्डकपः मछिन्द्रलाई हराउँदै चर्च ब्वाइज सेमिफाइनलमा

By admin

January 01, 2023

पोखरा । चर्च ब्वाइज युनाइटेड फुटबल क्लबले २२औं संस्करणको आहा! रारा पोखरा गोल्डकप फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ । पोखरा रंगशालामा आइतबार मछिन्द्र फुटबल क्लबलाई ३-१ गोल अन्तरले हराउँदै चर्च ब्वाइज अन्तिम चारमा पुगेको हो ।

 

चर्च ब्वाइजको जितमा आशिष चापागाईले दुई गोल गरे । आशिष चौधरीको नाममा एक गोल रह्यो । मछिन्द्रका सौरभ सुब्बाले एक गोल फर्काए । खेलको २३औं मिनेटमा आशिष चापागाईले गोल गर्दै चर्च ब्वाइजलाई सुरुआती अग्रता दिलाएका थिए ।

 

पहिलो हाफको इन्जुरी समयमा आशिषले व्यक्तिगत दोस्रो गोल गर्दै चर्च ब्वाइजको अग्रता २-० को बनाए । खेलको ६६औं मिनेटमा आशिष चौधरीले गोल गर्दै चर्च ब्वाइजलाई ३-० को अग्रता दिलाए । त्यसपछि खेलको ८९औं मिनेटमा मछिन्द्रका सौरभले गोल गरे पनि चर्च ब्वाइज ३-१ ले विजयी भयो ।

 

चर्च ब्वाइज आफ्नो डेब्यु सहभागितामै सेमिफाइनलमा प्रवेश गरेको हो । चर्च ब्वाइजका आशिष चापागाईं म्यान अफ दी म्याच बने । उनले नगद ८ हजार पाए । हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा जारी प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।

 

प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख पाउने छन् । यस्तै विधागततर्फ उत्कृष्ट पाँचले जनही २५ हजार, सर्वाधिक गोलकर्ताले २५ हजार र म्यान अफ द म्याचले ८ हजार पाउने छन्।