समाज

दमकमा कबड्डी खेल्नेक्रममा विद्यार्थीको मृत्यु

By admin

January 05, 2023

दमक । झापाको दमकस्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा कबड्डी खेल्दा खेल्दै एक खेलाडीको मृत्यु भएको छ । कबड्डी खेल खेल्दै गर्दा संखुवासभाको भोटखोला गाउँपालिका वडा नम्बर ४ स्थायी घर भएका लाप्चक भोटे घाइते भएका थिए ।

 

दमक ४ स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानको खेलमैदानमा प्रतिष्ठानले आयोजना गरेको कबड्डी खेलमा प्रतिष्ठानमा सिभिल ईन्जिनियर डिप्लोमा फर्स्ट लेभलमा पढ्ने १८ वर्षीय भोटे कबड्डी खेल्ने क्रममा अचानक बेहोस भएका थिए ।

 

खेल सुरु भएको ३ मिनेटमा नै भोटे बेहोस भएको र तत्काल उर्लाबारीस्थित गोदावरी हस्पिटलमा लगिएको थियो । गोदावरीमा उपचार सम्भव नभएपछि तत्कालै बिर्तामोडस्थित बिएण्डसी हस्पिटल रिफर गरिएको थियो ।

 

उनलाई उपचारका लागि ल्याउँदा ल्याउँदै बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी रुगमबहादुर कुँवरले बताए । अस्पतालमा पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषित गरेका थिए । भोटे जिल्लास्तरीय खेलाडी रहेका थिए । प्रतियोगितामा उनी टिम क्याप्टेन रहेको प्रतिष्ठानले जनाएको छ ।