खेलकुद

पोखरा गोल्डकपः चर्च ब्वाइजलाई रोक्दै भुटनिज युथ फाइनलमा

By admin

January 05, 2023

पोखरा । अमेरिकाको भुटनिज युथ स्पोर्टस क्लब युएसएले २२औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबलको फाइनलमा स्थान बनाएको छ । पोखरा रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनलमा चर्च ब्वाइज युनाईटेडलाई १-० गोल अन्तरले हराउँदै भुटनिज युथले फाइनलमा स्थान बनाएको हो ।

 

भुटनिज युगको जितमा रोजिन प्रजापतिले निर्णायक गोल गरे । रोजिनले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका थिए । यस्तै खेलको ८४औं मिनेटमा आशिष चौधरीले दोहोरो पहेँलो कार्डसहित रातो कार्ड पाउँदा चर्च ब्वाइज १० खेलाडीमा समेटिएको थियो ।

 

निर्णायक गोल गरेका रोजिन प्रजापति म्यान अफ दी म्याच बन्दै नगद ८ हजार पाउन सफल भए । अब भुटनिज युथले उपाधिका लागि फाइनलमा संकटा क्लबसँग प्रतिस्पर्धा गर्नेछ । संकटाले एपीएफलाई हराउँदै फाइनलमा स्थान पक्का गरिसकेको छ ।

 

 

हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा जारी प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।

 

सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख पाउने छन् । यस्तै विधागततर्फ उत्कृष्ट पाँचले जनही २५ हजार, सर्वाधिक गोलकर्ताले २५ हजार र म्यान अफ द म्याचले ८ हजार पाउने छन् ।