अर्थ बजार

कृषकको स्तरोन्नति र विचौलियको अन्त्य गर्न नगर प्रमुख गोम्देनको आग्रह

By admin

January 07, 2023

अर्जुनधारा । अर्जुनधाराका नगर प्रमुख बलदेव गोम्देनले नगरका कृषकहरुको स्तरोन्नति बढाउन र विचौलियाबाट ठगिने कार्यको अन्त्य गर्न अर्जुनधारा नगर विकास बहुउद्देश्यीय सहकारी संस्थालाई आग्रह गरेका छन् ।

 

शनिबार संस्थाको प्रथम साधारणसभाको उद्घाटन गर्दै नगर प्रमुख गोम्देनले विचौलियबाट कृषकमात्र मारमा परेका छैनन्, उपभोक्ता पनि उत्तिकै ठगिएकाले यसको अन्त्य नभएसम्म न त कृषकहरु उक्सिने बताए । संस्थाले नगरका कृषकका लागि व्यावसायिक खेती प्रविधिमैत्री बनाउनमा नगरले पनि सहयोग गर्ने उनले सुनाए ।

 

कार्यक्रममा नेपाली कांग्रेसका नगर सभापति हेमराज खरेल, माओवादीका नारद दुःखी, ७ नम्बर वडाध्यक्ष गोविन्द खतिवडा, एमालेबाट एकदेव खनाल, प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईलगायतले साधारणसभाको कार्यक्रमप्रति सकारात्मक सुझाव राख्दै किसानको हितमा अगाडि बढ्न शुभकामना दिएका थिए ।

 

संस्थाका अध्यक्ष प्रत्युष आजाद रानाको सभापतित्वमा भएको कार्यक्रममा स्वागत सदस्य देवकला प्रसाईले गरेकी थिइन् । उद्घाटन समयमै अध्यक्ष रानाले संस्थाको प्रतिवेदन वाचन गर्दै काम, कर्तव्य र अधिकारका विषयमा प्रस्ट्याएका थिए ।

 

उनले संस्थाका चुनौति र अवसरको विषयमा मसिनो रुपमा प्रतिवेदन पेश गरेका थिए । सुरुमा ५१५ जना शेयर सदस्य रहेता पनि यसको विकास र कार्य क्षमतालाई मूल्याङ्कन गर्दै ८६२ जना शेयर सदस्य पुगेको बताउँदै सम्भावनाका प्रशस्तै माध्यम भए पनि पूँजीको अभावका कारण भनेजस्तो नतिजा ल्याउन नसकेको नगर प्रमुखसमक्ष भनाइ राखेका थिए ।

 

प्रस्तुत प्रतिवेदनमा शेयर सदस्यका लागि सहकारी एवम् अगुवा कृषकका लागि अभिमुखिकरण तालिम, धानको मूल तथा उन्नत विउ, विजन खरिद र वितरण, वडा इकाई स्तरमा तदर्थ समिति गठन र परिचालन, पकेट कार्यक्रम सञ्चालन, पशुपन्छी विमा कार्यक्रम, कृषि प्राविधिक सेवा तथा वाली संरक्षण कार्यक्रम सञ्चालन भएको उल्लेख गरिएको छ ।

 

त्यसैगरी संस्था सञ्चालन गर्न आवश्यक पर्ने कार्यविधिको निर्माण, कृषि उपकरणको खरिद र व्यवस्थापन, कृषि उत्पादन वृद्धिका लागि आवश्यक पर्ने मल खादको व्यवस्थापन, निक्षेप संकलन तथा शेयर सदस्य विस्तारको लागि कर्मचारी परिचालनलगायतको कार्यक्रम सञ्चालन गरेको छ । जम्मा शेयर पूँजी ३४ लाख २९ हजार आठ सय रहेको संस्थाले गत आर्थिक वर्षको जम्मा आम्दानी ६० लाख १४ हजार एक सय ८६ रुपैयाँ छ पैसा रहेको छ ।

 

अर्जुनधारा कृषि क्षेत्रको उर्भर भूमिसँगै जलाशय भएको पनि नगर भएकाले संस्थागत ढंगबाट कृषिमा लगानी गर्न सके कृषकहरुको स्तरोन्नतिसँगै कृषिमा औद्योगिककरणको विकास हुने उनको भनाइ थियो । उपाध्यक्ष छत्र पौडेलले सञ्चालन गरेको कार्यक्रममा लेखा समितिका संयोजक विनोद आचार्यले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।