अर्थ बजार

सहनशिल महिला सहकारीको आम्दानी साढे ७९ लाख

By admin

January 09, 2023

शनिश्चरे । झापाको अर्जुनधारा ८ मा रहेको सहनशिल महिला बचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक वर्ष ०७८/०७९ मा ७९ लाख ५९ हजार ९०३ रुपैयाँ आम्दानी गरेको छ । आज सम्पन्न १३औं वार्षिक साधारणसभामा उक्त जानकारी दिइएको हो । संस्थाले चालु आर्थिक वर्षमा ८५ लाख ३० हजार रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको छ ।

 

सभामा समितिकी अध्यक्ष ज्ञानकुमारी थापाले संस्थाको गत आर्थिक वर्ष ०७८/०७९ को वार्षिक प्रगति प्रतिवेदन, लेखा समितिकी संयोजक पुनम पोखरेल सुवेदीले आन्तरिक लेखा परीक्षण प्रतिवेदन र व्यवस्थापक पम्फा विश्वकर्माले चालु आर्थिक वर्ष ०७९/०८०को प्रस्तावित बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

 

प्रस्तुत प्रतिवेदनमा संस्थाको जम्मा शेयर पूँजी ८७ लाख ११ हजार सात सय रुपैयाँ, निक्षेप बचत एक करोड ८५ लाख ५० हजार १३ रुपैयाँ, कर्जा लगानी चार करोड ४५ लाख ९५ हजार ३१३ रुपैयाँ, जगेडा कोषमा ४८ लाख ५८ हजार ९७ रुपैयाँ, अन्य कोषमा १३ लाख ४६ हजार ७३१ रुपैयाँ उल्लेख गरिएको छ ।

 

सोही सभामा असल उद्यमीतर्फ मायाकुमारी खवास र माया तामाङ, उत्कृष्ट ऐच्छिक बचततर्फ सुभद्रा घिमिरे, उत्कृष्ट बाल बचततर्फ अंशु राई, उत्कृष्ट मासिक बचततर्फ मञ्जिना खत्री र सुधा गुप्ता, उत्कृष्ट मुद्धती बचततर्फ बलबहादुर कार्कीलाई सम्मानित गरिएको थियो ।

 

त्यस्तै गत शैक्षिक वर्ष २०७८को एसईई परीक्षामा सामुदायिक विद्यालयतर्फ उत्कृष्ट जीपीए ल्याई उत्तीर्ण हुने शेयर सदस्यका सन्तानमध्ये आकाश कोइराला र अंकिता कुर्मीलाई नगद र प्रशंसा पत्रसहित पुरस्कृत गरिएको थियो ।

 

सभामा नगर सहकारी समन्वय समितिका संयोजक कृष्णप्रसाद चापागाईं, कालिका बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कर्णबहादुर तामाङ, त्रिगाउँ जडिबुटी उत्पादन तथा प्रशोधन सहकारी संस्थाका अध्यक्ष हरिप्रसाद दाहाल, प्रज्जवला अपाङ्ग तथा महिला बहुउद्देश्यीय सहकारी संस्थाकी उपाध्यक्ष रञ्जना कार्की, सल्लाहकारद्वय जगन्नाथ विश्वकर्मा र मिश्राकुमारी राईलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

 

स्थानीय शिवालय मन्दिरको सभाहलमा संस्था सञ्चालक समितिकी अध्यक्ष थापाको अध्यक्षतामा आयोजित उक्त सभाको प्रमुख अतिथि झापा जिल्ला सहकारी संघ लेखा समितिका सदस्य प्रेमसागर सापकोटाले उद्घाटन गरेका थिए । समितिकी उपाध्यक्ष सविता लिम्बूले स्वागत गरेको उक्त सभाको सञ्चालन व्यवस्थापक विश्वकर्माले गरेकी थिइन् ।