अर्थ बजार

६९ लाखसहित विराटनगरका हुन्डी कारोबारी पक्राउ

By admin

January 12, 2023

विराटनगर । हुन्डी कारोबारमा संलग्न विराटनगर १८ का रविप्रकाश साहलाई प्रहरीले ७ लाख १२ हजार नगद र विभिन्न बैंकमा जम्मा गरेको ६२ लाख रुपैयाँभन्दा बढीको भौचरसहित बिहीबार पक्राउ गरेको छ ।

 

मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाका अनुसार साहलाई जलजला मोडमा शंकास्पद अवस्थामा हिँड्दै गरेको अवस्थामा नियन्त्रणमा लिएर तलासी गर्दा उक्त रकम फेला परेको हो ।

 

३६ वर्षीय साहको साथबाट विभिन्न बैंकका १४ थान एटीएम कार्ड, चेक बुक ९ थानसहित ६ लाख रुपैयाँ निकाल्नका लागि काटिएका दुई थान चेकसमेत बरामद भएको कोइरालाले बताए ।

 

साहसँग नगद र बैंकमा जम्मा गरेको गरी करिब ७० लाख रुपैयाँको स्रोत खुल्न नसकेको र उक्त रकम हुन्डी कारोबारमा प्रयोग गरिएको हुन सक्ने कोइरालाको भनाइ छ ।

 

को २४ प ७९८४ नम्बरको मोटरसाइकलमा सवार रहेका उनलाई विराटनगर ७ बाट पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार शंकास्पद अवस्थामा भेटिएका साहले चलाएको मोटरसाइकल नियन्त्रणमा लिएर खानतलासी गर्दा स्रोत नखुलेको नगद फेला परेको हो ।

 

साहले उक्त रकमको स्रोत खुलाउन नसकेको र यस विषयमा थप अनुसन्धान भइरहेको जानकारी डीएसपी श्रेष्ठले दिए ।