समाज

अर्जुनधारामा ११ ग्राम ब्राउन सुगरसहित २ जना पक्राउ

By admin

January 14, 2023

बिर्तामोड । झापाको अर्जुनधारामा लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा मेचीनगर नगरपालिका ७ निवासी २६ वर्षीय विकाश राजवंशी र सोही ठाउँका २४ वर्षीय निर्मल भुजेल रहेको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए ।

 

प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा नगरपालिका ६ स्थित महानन्द चौकमा शुक्रबार साँझ ७ बजे उनीहरूलाई शङ्का लागि चेकजाँच गर्दा ब्राउन सुगरजस्तो देखिने खैरो लिसाइलो पदार्थ ११ ग्राम बरामद गरेको थियो ।

 

ब्राउन सुगरसहित पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।

 

उनीहरु ब्राउनसुगरको कारोबारी भएको बुझिएको छ । उनीहरु मेचीनगरबाट ब्राउनसुगर बिक्रीका लागि बिर्तामोड, मेचीनगर, अर्जुनधारा, कनकाईलगायतका पालिकामा आउने गरेको बताइएको छ ।