अर्थ बजार

फागुनमा बिर्तामोड अन्तर्राष्ट्रिय व्यापार महोत्सव हुने

By admin

January 16, 2023

बिर्तामोड । झापाको बिर्तामोडमा अन्तर्राष्ट्रिय औद्योगित व्यापार महोत्सव हुने भएको छ । बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा फागुन पहिलो सातादेखि ११ दिने महोत्सव हुने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

 

सरकारी नीति र कोभिडका कारण मुलुककै अर्थतन्त्र अस्तव्यस्त भइ आर्थिक मन्दीका बेला स्थानीय व्यवसायमा केही चलायनमान ल्याउन महोत्सव आयोजना गरिएको संघका अध्यक्ष प्रकाश सिवाकोटीले जानकारी दिए । महोत्सवको आयोजनाले स्थानीय उत्पादनको प्रवद्र्धनसँगै आर्थिक चलायमान हुने दाबी गरे ।

 

चार वर्षअघि आयोजना गरिएको महोत्सवले राम्रै सन्देश दिएको बताउँदै संघका वरिष्ठ उपाध्यक्ष तथा महोत्सव आयोजकका संयोजक राजु न्यौपानेले यसपटक फागुन ५ गतेदेखि १५ गतेसम्म महोत्सव आयोजना हुने बताए ।

 

उनका अनुसार बिर्तामोड २ स्थित रामचोक र चारपानेको मध्यभागमा रहेको प्रभु रामचोकमा १६ हजार १५० वर्गमिटरमा महोत्सवस्थल रहनेछ । करिब ३५० वटा नेपाल, भारत, पाकिस्तान र बंगलादेशका स्टल रहने महोत्सवमा ४५ करोडबराबरको कारोबार हुने अनुमान गरिएको छ ।

 

१ करोड खर्च लाग्ने अनुमान गरिएको महोत्सवबाट ४० देखि ५० लाख आम्दानी गर्ने लक्ष्य आयोजकले लिएको छ । ३ लाख दर्शकले महोत्सव अवलोकन गर्ने आयोजकको अनुमान छ ।

 

नेपाललगायत छिमेकी मुलुकका लगानीकर्ता, उत्पादक, वितरक, निर्यातकर्तालाई एउटै मञ्चमा भेला गराउने, त्यहाँ उत्पादित सामग्रीको प्रत्यक्ष अवलोकन तथा जानकारी उपलब्ध गराउनु महोत्सवको उद्देश्य रहेको बताइएको छ ।

 

महोत्सवमा प्रदर्शनी तथा बिक्री कक्ष, सांस्कृतिक तथा सांगीतिक क्षेत्र, बाल उद्यान तथा मनोरञ्जन क्षेत्र र खानपान क्षेत्र गरी आयोजकले चार भागमा विभाजन गरेको जनाएको छ । विशेष गरेर प्रदर्शनी कक्षमा दुईवटा ह्यान्गर बनाएर अटोमोबाइल्स, बैंक तथा वित्तीय, इलेक्ट्रोनिक्स तथा आईटी, निर्माण सामग्रीलगायत अन्तर्राष्ट्रिय औद्योगिक उपकरण राखिने महोत्सव व्यवस्थापक ललित सिंखडाले बताए ।

 

यसपटक अक्टानोर्म तथा डोम विधिबाट अन्तर्राष्ट्रियस्तरको स्टल रहने महोत्सवमा सेल्फी जोनसँगै फ्रि वाईफाईको व्यवस्था आयोजकले गरेको छ । बाल उद्यान, साहसिक खेल तथा मनोरञ्जनात्मक कार्यक्रम रहने महोत्सवमा आदिवासी जनजातिको परम्परागत भेषभुषा, परिकारका स्टललाई आयोजकले निशूल्करुपमा उपलब्ध गराउने संयोजक न्यौपानेल बताए ।

 

पलायन हुँदै गएको व्यवसायलाई संरक्षण गर्दै निराश बनेका व्यवसायीलाई उत्साह गर्न पनि महोत्सव आयोजना गरिएको संघका महासचिव अर्जुनकुमार मैनालीले जानकारी दिए । उनका अनुसार आर्थिक मन्दीलाई चलायनमान बनाउने मात्र नभइ महोत्सवबाट आफ्ना उत्पादनको प्रचारप्रसार गर्ने माध्यम बन्ने विश्वास लिइएको छ ।

 

महोत्सवमा परिचयपत्रका आधारमा ज्येष्ठ नागरिक र सरकारी विद्यालयका विद्यार्थीलाई प्रवेश निशूल्क गरिएको छ भने संस्थागत विद्यालयका विद्यार्थीलाई ५० प्रतिशत छुट गरिने महोत्सव संयोजक न्यौपानेले जानकारी दिए ।