अर्जुनधारा । झापाको अर्जुनधारा ८ मा प्रधान कार्यालय रहेको सहनशील महिला बचत तथा ऋण सहकारी संस्थाले स्थानीय विद्यालयका छात्रछात्रालाई जाडो मौसममा न्यानो कपडा वितरण गरेको छ । संस्थाले स्थानीय चन्द्रोदय प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो ।
अर्जुनधारा ८ का निवर्तमान वडाध्यक्ष गोपीचन्द्र गौतमको प्रमुख आतिथ्यमा शुक्रबार एक कार्यक्रमका बीच विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो । विद्यालयमा अध्ययनरत ३० जना छात्र र ३८ जना छात्रा गरी ६८ जनालाई विद्यालय पोशाकअनुरुपको टोपी र स्वीटर वितरण गरिएको संस्थाकी व्यवस्थापक पम्फा विश्वकर्माले जानकारी दिइन् ।
उनका अनुसार २०७० सालमा स्थापना भएको यस संस्थाले प्रत्येक आर्थिक वर्षमा संस्थाले आर्जन गर्ने नाफाको औषत तीन प्रतिशत रकमबाट सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक काम गर्दै आएको छ । नगरका विभिन्न वडामा आलोपालो सामाजिक कार्य गर्दै आएको व्यवस्थापक विश्वकर्माले बताइन् ।
संस्था सञ्चालक समितिकी अध्यक्ष ज्ञानकुमारी थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि गौतमले विद्यार्थी सागर लिम्बूलाई कपडा हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए ।
२०७० सालमा मातातीर्थ औंशीको अवसरमा आमा सम्मान गर्दै सुरु भएको उक्त कार्यक्रमअन्तर्गत हालसम्म ग्रामीण भेगमा बसोबास गर्ने महिलाहरुको लागि निःशुल्क भीआईए परीक्षण शिविर, निःशुल्क आँखा शिविरलगायतका कार्यहरु गरेको अध्यक्ष थापाले जानकारी दिइन् ।
कार्यक्रममा वडा सदस्य सरु बुढाथोकी, विद्यालयका प्रधानाध्यापक टंकप्रसाद आचार्यलगायतले संस्थाले गर्दै आएको कामको प्रशंसा गरेका थिए । समितिकी उपाध्यक्ष सविता लिम्बूले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन व्यवस्थापक विश्वकर्माले गरेकी थिइन् ।