अर्थ बजार

सभामुख घिमिरेसमक्ष राखे व्यवसायीले आफ्ना समस्या

By admin

January 22, 2023

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अन्जनकुमार श्रेष्ठको नेतृत्वमा विभिन्न बस्तुगत संघका अध्यक्षहरूसहितको टोलीले प्रतिनिधिसभाको सभामुख पदमा निर्वाचित देवराज घिमिरेलाई बधाई तथा शुभकामना प्रदान गरेको छ ।

 

हालै सभामुख पदमा निर्वाचित घिमिरेलाई आज आइतबार कार्यकक्षमै पुगेर बधाई तथा शुभकामना प्रदान गरेको हो । साथै, महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठले वर्तमान आर्थिक तरलताको अभाव, बैंकको ब्याज, विभिन्न ऐन संशोधनका विषयमा सभामुखको ध्यानाकर्षणसमेत गराएका थिए ।

 

त्यस्तै, महासंघका केन्द्रीय सदस्य मनिषलाल प्रधानले निर्यातलगायत विभिन्न बस्तुगत क्षेत्रमा उद्यमी ब्यवसायीले भोग्नु परेको कठिनाइका विषयमा अवगत गराएका थिए ।

 

यसैगरी, नेपाल कुचो संघका अध्यक्ष राजकुमार कार्कीले अलैंची र अम्लिसो बङ्लादेशमा निर्यात गर्दा लाग्ने अधिक करको बारेमा सभामुखलाई अवगत गराउँदै समस्या समाधानका लागि पहल गरिदिन आग्रहसमेत गरेका छन् ।

 

कार्यक्रममा नेपाल पेट्रोलियम डिलर्श एशोसिएसनका पूर्वअध्यक्ष शिवप्रसाद घिमिरे, नेपाल दाना उद्योग संघका अध्यक्ष रविन पुरी, सौर्य उत्पादक संघका निवर्तमान अध्यक्ष इन्द्र खनाल, फ«ेड एण्ड फरवार्डस्का अध्यक्ष मनोज अधिकारी, नेपाल महिला उद्यमी महासंघका बरिष्ठ उपाध्यक्ष शोमा ज्ञवालीलगायतले आआफ्नो संघको तर्फबाट शुभकामनासहित आफ्ना क्षेत्रका समस्या राखेका थिए ।

 

यस्तै, सभामुख घिमिरेले नेपालका ठुला ब्यावसायिक संस्थाले उठाएका सवालहरूलाई सम्बन्धित निकायहरूसँग समन्वय गर्ने र आफू उद्योगी व्यवसायीसँग बसेर छलफल गर्ने आश्वासन दिएको नेपाल कुचो संघका अध्यक्ष राजकुमार कार्कीले जानकारी दिए ।