समाज

नमूना सामुदायिक वनको २४औं सभामा ज्येष्ठ उपभोक्ता सम्मानित

By admin

January 25, 2023

शनिश्चरे । झापाको अर्जुनधारा ९ मा रहेको नमूना सामुदायिक वन उपभोक्ता समूहको २४औं वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । कार्यक्रममा समूहका ज्येष्ठ उपभोक्ता सदस्यलाई सम्मान गरिएको छ । समूहका ज्येष्ठ उपभोक्ता सदस्यहरु छविलाल खरेल, पदमादेवी ओली, रंगलाल निरौला र लालबहादुर कटुवाललाई सम्मान पत्रसहित दोसल्लो ओढाई सम्मानित गरिएको हो ।

 

समूहको कार्यालय प्राङ्गणमा संस्थाका अध्यक्ष भानुभक्त श्रेष्ठको अध्यक्षतामा आयोजित उक्त सभाको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङले उद्घाटन गरेका थिए ।

 

सोही सभामा संस्थालाई पाँच वर्षको क्रममा विभिन्न शिर्षकमार्फत् ७८ लाख ३६ हजार तीन सय नौ रुपैयाँ अनुदान सहयोग गर्ने डिभिजन वन कार्यालय झापा, सब डिभिजन वन कार्यालय सुरुङ्गा, अर्जुनधारा नगरपालिका, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भद्रपुर र आजाद सामुदायिक संस्थालाई कार्यक्रममा सम्मान पत्रसहित सम्मानित गरिएको थियो ।

 

सभामा अध्यक्ष श्रेष्ठले संस्थाको गत आर्थिक वर्ष ०७८÷०७९को वार्षिक प्रगति प्रतिवेदन र लेखा समितिका संयोजक लोकनाथ दाहालले आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदनमा संस्थाको जम्मा आम्दानी ५४ लाख १५ हजार नौ सय ७५ रुपैयाँ ३५ पैसा, जम्मा खर्च ५३ लाख ४४ हजार तीन सय ४८ रुपैयाँ २५ पैसा र जम्मा बचत ७१ हजार छ सय २७ रुपैयाँ १० पैसा उल्लेख गरिएको छ ।

 

सभामा निवर्तमान प्रदेश सांसद वृखबहादुर प्रधान, अर्जुनधारा–९ का वडाध्यक्ष भीष्म मिश्र, नगर कार्यपालिका सदस्य गौरीमाया चिमरिया, नगर सामुदायिक वन उपभोक्ता महासंघ अर्जुनधाराका अध्यक्ष दिव्यप्रसाद कट्टेल, नेपाली काँग्रेस अर्जुनधारा ११ का सभापति जगत राना मगरलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

 

समूहका उपाध्यक्ष सूर्यप्रकाश अधिकारीले स्वागत गरेको उक्त सभाको सञ्चालन सदस्य सन्तकुमार राईले गरेका थिए ।