खेलकुद

फेदाप जलजलेलाई महिला फुटबलको उपाधि

By admin

February 06, 2023

खाम्लालुङ, (तेह्रथुम) । आठराई गाउँपालिका २ स्थित कालिका माविको खेलमैदानमा आयोजित गजेन्द्र इस्वो स्मृति रनिङ कप २०७९को महिला फुटबलको उपाधि मुनाल युथ क्लब फेदाप जलजलेले चुमेका छ । झापाको शिवसताक्षी नगरपालिकालाई टाइब्रेकरमा पराजित गर्दै फेदाप जलजलेले उपाधि रक्षा गरेको हो ।

 

खेलको निर्धारित समयमा दुवै टोलीले १-१ गोलको बराबरी खेलेपछि निर्णय सोझै टाइब्रेकरबाट लिइएको थियो । खेलमा पहिलो गोल शिवसताक्षीले गरे पनि अन्तिम केही मिनेट सम्हालिन नसक्दा फेदापले बराबरी गोल गरेको हो ।

 

खेलको १८औँ मिनेटमा शिवसताक्षीकी अविना राईले गोल गर्दै अग्रता दिलाएकी थिइन् । तर, खेलको अन्तिम १० मिनेट सम्हालिन नसक्दा फेदापले बराबरी गोल फर्कायो । उसका लागि सविता लिम्बूले गोल गरेकी थिइन् ।

 

टाइब्रेकरमा फेदापकी प्रिया बस्नेत, सिजन खवास र रोजिना चाम्लिङको प्रहारमात्र गोलमा परिणत भएको थियो । कप्तान सेमिहाङ लिम्बूको प्रहार बाहिरिँदा साइसा क्षेत्रीको प्रहार शिवसताक्षीकी गोलरक्षक सुजाता थापाले रोकेकी थिइन् ।

 

यस्तै, शिवसताक्षीकी स्वस्ती जवेगु र अविना राईको प्रहारमात्र गोलमा परिणत भएको थियो । लासाङ लामा र शान्ति फागोको प्रहार फेदापकी गोलरक्षक इङ्सा लिम्बूले रोक्दा सामना राईको प्रहार बाहिरिएको थियो ।

 

आठराई गाउँपालिका र २ नम्बर वडा कार्यालयको संयुक्त आयोजनामा भएको प्रतियोगिताको विजेताले नगद ६० हजार पाएको छ भने उपविजेताले नगद ४० हजारमा चित्त बुझाएको छ ।