खेलकुद

जावलाखेल राजर्षि जनक कपको फाइनलमा

By admin

February 16, 2023

बागमती (सर्लाही) । ललितपुरको जावलाखेल युथ कलब यहाँ जारी सातौँ राजर्षि जनक कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनल खेलमा काठमाडौँको संकटा क्लबमाथि कठिन जित निकाल्दै जावलाखेलले उपाधि भिडन्तमा स्थान बनाएको हो ।

 

उपाधिको दाबेदार मानिएको संकटालाई रोक्न जावलाखेलको एक गोल नै निर्णायक बन्यो । खेलको पहिलो हाफमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलको ५०औँ मिनेटमा गोल गर्दै जावलाखेललेअग्रता बनाएको थियो ।

 

जावलाखेलका लागि सुनिल खड्काले गरेको गोल नै फाइनल प्रवेशका लागि निर्णायक बन्यो । जावलाखेल फाइनल प्रवेश गर्ने पहिलो टोली बनेको छ । खेलको म्यान अफ दी म्याच जावलाखेलका हिसुव थपलिया घोषित भए । उनले नगद १० हजार पाए ।

 

जावलाखेलले भोलि (शुक्रबार) हुने अन्तिम सेमिफाइनल खेलको विजेतासँग फागुन ७ गते उपाधिका लागि भिड्ने छ । अन्तिम सेमिफाइनल खेलमा ए डिभिजन लिग च्याम्पियन मच्छिन्द्र एफसीले सुदूरपश्चिम ११ एफसीसँग प्रतिस्पर्धा गर्नेछ ।

 

प्रतियोगितामा भारत र नेपालका १२ टिम सहभागी छन् । बागमती युवा क्लब र बागमती नगर खेलकुद विकास समितिको आयोजनामा भएको राजर्षि जनक कपको सातौँ संस्करण विजेताले नगद १० लाख रुपैयाँ पाउनेछ । उपविजेताले पाँच लाख रुपैयाँ हात पार्नेछ ।

 

हरेक विधामा उत्कृष्ट खेलाडीलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिने आयोजक क्लबका अध्यक्ष किस्मतराज मैनालीले बताए । त्यस्तै प्रतियोगितामा उत्कृष्ट खेल खेल्ने आयोजक बागमती युवा क्बलका एक खेलाडीलाई बागमती राईजिङ अफ दी ईयर प्लेयर्स घोषणासहित एक थान मोटरसाइकल प्रदान गरिने क्लबका महासचिव सागर मैनालीले जानकारी दिए ।