बिर्तामोड । झापाको बिर्तामोडमा अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव शुरु भएको छ । दुई सयभन्दा बढी व्यापारिक स्टलहरु रहेको महोत्सवको उद्घाटन सभामुख देवराज घिमिरेले गरेका हुन् ।
महोत्सवमा नेपालसहित भारत, बंगलादेश र पाकिस्तानको समेत व्यावसायिक स्टलहरु रहेका छन् । यही फागुन १५ गतेसम्म सञ्चालन हुने महोत्सवमा ४५ करोड रुपैयाँबराबरको कारोबार हुने अपेक्षा गरिएको महोत्सव मूल आयोजक समितिका संयोजक राजु न्यौपानेले बताए ।
महोत्सवको उद्घाटन गर्दै सभामुख घिमिरेले आर्थिकरूपमा देश समृद्ध बनाउनका लागि सरकार र निजी क्षेत्र दुवै मिलेर चुनौीिहरूको सामना गर्नुपर्ने धारणा राखे । उनले देशको अर्थतन्त्र संकटमा पर्दै गएको र सभामुखको तर्फबाट संसदमा आर्थिक अवस्था सुधारका लागि भूमिका निर्वाह गर्ने आश्वासन दिए ।
बिर्तामोड उद्योग वाणिज्य संघले महोत्सवको आयोजना गरेर आर्थिक अवस्थालाई चलायमान बनाउन भूमिका निर्वाह गरेको भन्दै सभामुख घिमिरेले प्रशंसा पनि व्यक्त गरे । उनले झापाका पर्यटकीय क्षेत्रको विकासका लागि पनि वाणिज्य संघले भूमिका खेल्ने विश्वास ब्यक्त गर्दै आफ्नो तर्फबाट सदैव सहयोग गर्ने बताए ।
बजेटको २० प्रतिशत बजेट कटौीि गर्न अर्थ मन्त्रालयले पत्राचार गरेको अवस्थाले मुलुकको अर्थतन्त्र धराशायी बन्ने संकेत गरेको भन्दै सभामुख घिमिरेले अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्र एकजुट भएर अघि बढ्नु पर्ने धारणा राखे । उनले महोत्सव सफल बनाउन निजी क्षेत्र, स्थानीय, प्रदेश र संघीय सरकारका साथै राजनीतिक दलको भूमिका महत्वपूर्ण हुने विचार व्यक्त गरे ।
कार्यक्रममा उपसभामुख इन्दिरा रानामगरले बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक महोत्सव प्रदेश १ कै गौरवको विषय भएको बताइन् । उनले सबै पक्षको सहकार्यमा महोत्सव सफल हुने विश्वास पनि व्यक्त गरिन् ।
उपसभामुख रानाले समृद्ध मुलुक निर्माणका लागि कृषि उत्पादनमा लाग्नुपर्ने, महिला उद्यमीहरूले आत्मनिर्भर हुँदै सीप हस्तान्तरण गर्दै जानुपर्ने धारणा राखिन् । कार्यक्रममा प्रदेश नम्बर १ का उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले आर्थिक मन्दीका कारण सरकारको अवस्था कमजोर रहेको बताए ।
मन्त्री सिटौलाले सरकारले लगानी गरेर दिएका तालिम अनुत्पादक हुनुका साथै लक्षित वर्गले अनुदानसमेत प्राप्त गर्न नसकेको बताउँदै सहकारीका नाममा संगठित ठगी हुने गरेको दाबी गरे । उनले त्यसतर्फ समेत सरकारको ध्यान केन्द्रित भएको धारणा राखे ।
कार्यक्रममा सार्क चेम्बर अफ कमर्शका उपाध्यक्ष तथा नेपाल वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालले आर्थिक मन्दीका बीच पनि महोत्सवको आयोजना गरेर स्वदेशी उत्पादनहरुको बजारीकरण गर्न खोज्नु सराहानीय भएको धारणा राखे
कार्यक्रममा संविधानसभा सदस्य मनकुमार गौतम, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य हेमराज ढकाल, कमला श्रेष्ठ, नेपाली कांग्रेस झापाका जिल्ला सभापति देउमान थेवे, नेकपा एमालेका नेता छविलाल विश्वकर्मालगायतले शुभकामना मन्तव्य राखेका थिए ।
महोत्सवका विषयमा बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाधयक्ष तथा महोत्सव मूल आयोजक समिति संयोजक राजु न्यौपानेले स्वागतसहित औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको अध्यक्षता बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले गरेका थिए ।
कार्यक्रमको सञ्चालन संघका महासचिव अर्जुनकुमार मैनाली र सञ्चारकर्मीद्वय केशव भट्टराई तथा लीला अनमोलले गरेका थिए । यसैबीच बिर्तामोड उद्योग वाणिज्य संघले सभामुख घिमिरे र उपसभामुख रानालाई सम्मान गरेको छ । सम्मानित सभामुख र उपसभामुखको सम्मान पत्र संघका सचिव कुशल खतिवडाले वाचन गरेका थिए ।