बागमती । सातौँ राजर्षि जनक कप फुटबल प्रतियोगिताको उपाधि रक्षाको लागि भोलि जावलाखेल युथ क्लबले चिरपरिचित प्रतिद््वन्द्वी मच्छिन्द्र फुटबल क्लबसँग प्रतिस्पर्धा गर्दैछ । दुवै टोली यस सिजनको पहिलो उपाधि रक्षाका लागि भिड्न लागेका हुन् । गतवर्ष हेटाैँडाकाे पिप्ले युथ क्लबले उपाधी रक्षा गरेकाे थियाे ।
सुदूरपश्चिम ११ एफसीलाई ६-२ गोलअन्तरले पाखा लगाउँदै मच्छिन्द्रले फाइनल यात्रा तय गरेको थियो । मच्छिन्द्र दोस्रो पटक फाइनलमा पुगेको हो । गतवर्ष हेटाैँडासँग पराजितहुँदै उपविजेतामा समेटिएकाे थियाे । यस्तै, जावलाखेलले पनि उपाधिको दाबेदार मानिएको संकटा क्लबलाई १-० गोलले पराजित गर्दै पहिलोपल्ट राजर्षि जनक कपको फाइनलमा प्रवेश गरेको हो ।
आज आयोजित प्रिम्याच कन्फरेन्समा दुवै टोलीले उपाधि रक्षाका लागि शतप्रतिशत मिहेनत गर्ने बताए । जावलाखेलका प्रशिक्षक सुनिल श्रेष्ठले आफ्नो टोलीमा युवा खेलाडीको बर्चश्व रहेकाले च्याम्पियन बनने विश्वास व्यक्त गरे ।
उनले दोस्रो खेलबाट तालमेल मिलेकाले लिग च्याम्पियन मच्छिन्द्रविरुद्ध मैदानमा उत्कृष्ट प्रदर्शन गर्न तयार रहेको बताए । कप्तान सिमान्त थापाले खेल प्रतिस्पर्धात्मक हुने बताउँदै जितका लागि नै खेल्ने दाबी गरे ।
मच्छिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले पहिलो खेल आयोजक बागमती युवा क्लबसँग खेल्न गाह्रो भएको स्वीकार्दै फाइनलमा कठिन प्रतिद्वन्द्वी पाएको बताए । जावलाखेलले राम्रो टिमलाई हराएर आएकाले पनि फाइनलमा गाह्रो हुने भन्दै अनुभवी खेलाडीको साथले जित निस्कने उनको विश्वास थियो ।
कप्तान सुजल श्रेष्ठले पहिलो खेलभन्दा दोस्रो खेलबाट टोली लयमा फर्किसकेको भन्दै फाइनल खेलमा उस्तै प्रदर्शनलाई निरन्तरता दिने बताए । जावलाखेल कमजो टिम नभए पनि उपाधि रक्षाका लागि आफ्नो टिमको तयारी रहेको उनको भनाइ थियो ।
दुवै टोलीले ९० मिनेटभित्रै नतिजा आफ्नो पक्षमा पारेर उपाधि रक्षा गर्ने दाबी गरेका छन् । प्रतियोगितामा भारत र नेपालका १२ टिम सहभागी थिए । प्रतियोगिताको फाइनल खेल भोलि फागुन ७ गते हुनेछ ।
बागमती युवा क्लब र बागमती नगर खेलकुद विकास समितिको आयोजनामा भएको राजर्षि जनक कपको सातौँ संस्करण विजेताले नगद १० लाख रुपैयाँ पाउनेछ । उपविजेताले पाँच लाख रुपैयाँ हात पार्नेछ । हरेक विधामा उत्कृष्ट खेलाडीलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिने आयोजक क्लबका अध्यक्ष किस्मतराज मैनालीले बताए ।
त्यस्तै प्रतियोगितामा उत्कृष्ट खेल खेल्ने आयोजक बागमती युवा क्बलका एक खेलाडीलाई बागमती राईजिङ अफ दी ईयर प्लेयर्स घोषणासहित एक थान मोटरसाइकल प्रदान गरिने क्लबका महासचिव सागर मैनालीले जानकारी दिए ।