बागमती । सातौँ राजर्षि जनक कप फुटबल प्रतियोगिताको उपाधि काठमाडौँको मच्छिन्द्र फुटबल क्लबले जितेको छ । स्पर्धी जावलाखेल युथ क्लबलाई २-१ गोलअन्तरले पराजित गर्दै मच्छिन्द्रले उपाधि रक्षा गरेको हो ।
मच्छिन्द्रका जितमा विमल घर्तीमगरले पेनाल्टीमार्फत गोल गरेर अग्रता दिलाएका थिए । विपक्षी खेलाडीले छिरिङ गुरूङमाथि फाउल गरेपछि पाएको पेनाल्टीमा विमल घर्तीमगरले खेलको ३०औँ मिनेटमा गोल गरेका थिए ।
यस्तै, कप्तान सुजल श्रेष्ठले सुन्दर गोल गर्दै मच्छिन्द्रका अग्रता दोब्बर बनाएका थिए । खेलको ७५औँ मिनेटमा पाएको रिबाउन्ड बललाई गोलपोस्टको दिशा दिएका थिए । यस्तै, जावलाखेलका विनोद केसीले खेलको ८३औँ मिनेटमा गोल गरेर खेलमा फर्किने प्रयास गरे पनि सम्भव भएन ।
बागमती युवा क्लबका खेलाडी अभिषेक वाइबालाई बागमती राईजिङ अफ दी ईयर प्लेयर्स बन्दै प्रोत्साहनस्वरुप पस्लसरको एनएस २०० मोटरसाइकल प्रदान गरिएको छ । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक मच्छिन्द्रका विशाल श्रेष्ठ भए । यस्तै, बेस्ट स्ट्राइकर विमल घर्तीमगर र उत्कृष्ट प्रशिक्षक प्रवेश कटुवाल बने ।
यसैगरी, बेस्ट डिफेन्स जावलाखेलका सिमान्त थापामगर, मिडफिल्डर समिराज थोकर घोषितहुँदै जनही २५-२५ हजार पाउन सफल भए । प्रतियोगिताको बेस्ट प्लेयर भने बागमतीका सिर्जन गौतम भए । उनले नगद ५१ हजार प्राप्त गरे ।
बागमती युवा क्लब र बागमती नगर खेलकुद विकास समितिको आयोजनामा भएको राजर्षि जनक कपको सातौँ संस्करण विजेताले नगद १० लाख रुपैयाँ पाएको छ भने उपविजेताले पाँच लाख रुपैयाँमा चित्त बुझायो ।