झापा । कृषि, पर्यटन तथा औद्योगिक क्षेत्रका आर्थिक गतिविधिलाई चलायमान बनाउन झापाको बिर्तामोडमा आयोजित ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव’मा नेपालमा उत्पादित कृषिजन्य बस्तुको प्रदर्शनीले महोत्सवको रौनकता बढाएको छ ।
महोत्सवमा किबीको फलबाट बनाइएका विभिन्न परिकार (जुस, जाम, अचार, तीनपाने घरेलु मदिरा) देखि दारका ठेकीसम्म राखिएका छन् । ठेकी काठबाट बनेको परम्परागत नेपाली भाँडो हो । यो दही जमाउने, दही मथ्ने (मोही पार्ने), मोही अथवा दही राख्ने काममा प्रयोग गरिन्छ । ठेकी सामान्यतया दार अथवा देवदार नामको रूखको काठबाट बनाइन्छ ।
त्यस्तै महोत्सवमा अचारका विभिन्न परिकारसमेत राखिएका छन् भने सुपारीका खपटाबाट दुना टपरी, प्लेट, थाल, खण्डे थाल, बटुका, चम्चा आदि राखिएका छन् । जुसको परिकारमा किबीका छुट्टाछुट्टै जुस राखिएको छ भने लालीगुराँसको जुस समेत महोत्सवमा राखिएको छ । जुन महोत्सवका लागि आकर्षणको केन्द्र बनेको छ ।
पूर्वी पहाडमा उत्पादित कृषिजन्य बस्तुको प्रर्दशनीले महोत्सवको रौनकता बढाएको बिर्तामोड उद्योग बाणिज्य संघका महासचिव अर्जुनकुमार मैनालीले बताए । महोत्सवमा बंगलादेश, पाकिस्तान र भारतका व्यवसायीहरुको समेत उल्लेख्य सहभागिता रहेको छ ।
फागुन १५ गतेसम्म सञ्चालन हुने महोत्सव बिर्तामोड नगरपालिका २ स्थित पूर्व पश्चिम राजमार्गको रामचौक नजिकै सञ्चालित छ । महोत्सवमा दुई सय वटा स्टलहरु राखिएका छन् ।