झापा । संकटा क्लब काठमाडौँ झापाको भद्रपुरमा जारी प्रथम भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक भद्रपुर ब्लेजर्सलाई १-० गोलले पराजित गर्दै संकटा अन्तिम चारमा प्रवेश गरेको हो ।
मेची रंगशालामा मंगलबार भएको पहिलो क्वाटरफाइनल खेलमा आयोजकविरुद्ध संकटाले कठिन जित निकालेको हो । उसका मनिष डाँगीले गरेको गोल नै निर्णायक भयो । उनले खेलको पाँचौँ मिनेटमा गोल गरेका थिए ।
घरेलु मैदानमा दर्शकको राम्रो साथ पाएको भद्रपुर ब्लेजर्सले आक्रामक खेल खेले पनि पराजित हुन पुग्यो । आयोजकले खेल अवधिभर दर्जनभन्दा बढी अवसर बनाउँदा पनि सदुपयोग गर्न सकेन ।
सुरुवातमै दबाबमा परेको आयोजक गोल गर्न चुक्दा क्वाटरफाइनलबाटै बाहिरिएको छ । आयोजक भद्रपुर ब्लेजर्सका दुई गोल बारमा ठोकिएर फर्किए । पहिलो गोलपछि भने संकटाले थप गोल गर्न सकेन । त्यसपछि संकटाले रक्षात्मक खेल खेल्यो ।
प्लेयर अफ द म्याच संकटाका गोलरक्षक टिकेन्द्रसिंह थापा घोषित भए । उनले नगद २० हजार पुरस्कार पाए । पुरस्कारको सौजन्य मनोज सुब्बा तथा परिवारले पिता वीरहाङ लिम्बूको स्मृतिमा गरेको हो ।
बुधबारको क्वाटरफाइनल खेल चर्च ब्वाइज र लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबबीच हुनेछ । गोल्डकपको विजेता टोलीले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ पाउने छन् ।
प्रतियोगिताको प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २० हजार पाउँदा उत्कृष्ट गोलरक्षक, उच्च गोलकर्ता, उदयमान खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, फाइनल खेलको पहिलो गोलकर्ता र प्रशिक्षकलाई जनही २५-२५ हजार दिइने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख रुपैयाँ दिइने आयोजकले जानकारी दिएको छ ।