झापा । लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लब यहाँ जारी भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । ए डिभिजन लिगमा उक्लिएको चर्च ब्वाइज युनाइटेडलाई रोक्दै मच्छिन्द्रले अन्तिम चारमा स्थान बनाएको हो ।
बुधबार मेची रंगशालामा भएको खेलमा चर्च ब्वाइज युनाइटेडसँग १-० गोलले पछि परेको स्थितिलाई उल्टाउँदै उपाधिको दाबेदार मानिएको मच्छिन्द्रले बाजी मारेको हो । चर्च ब्वाइजलाई २–१ गोलले हराउँदै मच्छिन्द्रले आफ्नो दाबेदारी प्रस्तुत गर्यो ।
मच्छिन्द्रको जितका लागि कप्तान सुजल श्रेष्ठ र विमल घर्तीमगरले समान एक÷एक गोल गरे । खेलमा सुरुवाती अग्रता भने चर्च ब्वाइजले गरेको थियो । खेलको ५४औँ मिनेटमा चर्च ब्वाइजका कप्तान अनन्त तामाङले सुरुवाती गोल गरेका थिए । उनले गगनदीप सिंहको क्रसमा हेडमार्फत गोल गरेका थिए ।
अन्तिम १० मिनेटमा लयमा फर्किएको मछिन्द्रले लगातार गोल फर्कायो । खेलको ८१औँ मिनेटमा सुजल श्रेष्ठले फ्रिकिकमार्फत खेललाई बराबरीमा ल्याए । सुजलको फ्रिकिक प्रहारमा बलले सिधै चर्च ब्वाइजको जाली चुमेको थियो ।
करिब ३५ यार्डको दूरीबाट सुजलले प्रहार गरेको बलले जाली चुम्दा चर्च ब्वाइजका गोलरक्षक अभिषेक चौधरीले कुनै जजमेन्ट नै गर्न सकेनन् । खेललाई बराबरीमा पुराएपछि आक्रामक खेल प्रस्तुत गरेको मच्छिन्द्रका खेलाडीले ५ मिनेटपछि दोस्रो गोल गर्न सफल रह्यो ।
खेलको ८६औँ मिनेटमा विमल घर्तीमगरले हेडरमार्फत गोल गर्दै मच्छिन्द्रको जित सुनिश्चित गरेका हुन् । दायाँ साइडबाट छिरिङ गुरुङले मिलाइदिएको क्रसमा विमलको हेडर क्रस बारमा लाग्दै बलले गोललाइन क्रस गरेको थियो ।
खेलको प्लेयर अफ द म्याच मछिन्द्रका कप्तान सुजल श्रेष्ठ घोषित भए । उनले नगद २० हजार पुरस्कार पाए । पुरस्कारको सौजन्य मनोज सुब्बा तथा परिवारले पिता वीरहाङ लिम्बूको स्मृतिमा गरेको हो ।
अब मच्छिन्द्रले फाइनल प्रवेशका लागि एपिएफ फुटबल क्लब र काउवार्न बजार प्रगति संघ बंगलादेशबीचको विजेतासँग आइतबार खेल्नेछ । भोलि (बिहीबार)को खेल त्रिभुवन आर्मी फुटबल क्लब र डु«क ल्हायुल फुटबल क्लब भुटानबीच हुनेछ ।
भद्रपुर झापा गोल्डकपमा तीन विदेशीसहित १० टिमको सहभागिता रहेको छ । गोल्डकपको विजेता टोलीले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ पाउने छ ।
उत्कृष्ट गोलरक्षक, उच्च गोलकर्ता, उदीयमान खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, फाइनल खेलको पहिलो गोलकर्ता र प्रशिक्षकलाई जनही २५-२५ हजार दिइने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई भने नगद एक लाख रुपैयाँ दिइने आयोजकले जानकारी दिएको छ ।