झापा । त्रिभुवन आर्मी फुटबल क्लब भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार मेची रंगशालामा भएको खेलमा पाहुना टोली ड्रुक ल्हायुल एफसी भुटानलाई २-० गोल अन्तरले पराजित गर्दै आर्मीले सेमिफाइनलको यात्रा तय गरेको हो ।
खेलमा आर्मीका जितेन्द्र कार्की र सुशान्त चौधरीले एक-एक गोल गरे । खेलको तेस्रो मिनेटमै आर्मीले पाहुना टोली भुटानविरुद्ध गोल ग¥यो । पेनाल्टी एरिया नजिकै आर्मीले पाएको फ्रिकिकको सदुपयोग गर्दै तेस्रो मिनेटमा जितेन्द्र कार्कीले गोल गरे ।
जितेन्द्र कार्कीले प्रहार गरेको बललाई भुटानका गोलरक्षक न्गवाङ जाम्फेलले नियन्त्रणमा लिन खोज्दा फुत्किएर गोलपोष्टमा छिरेको थियो । बल गोल लाइनबाट बाहिरिने क्रममा जाम्फेलले नियन्त्रणमा लिन खोजेका थिए ।
यस्तै, खेलको ६४औँ मिनेटमा आर्मीका सुशान्त चौधरीले अर्को गोल थपे । आर्मीका कप्तान गिलेस्पी जंग कार्कीले प्रहार गरेको बल गोलपोस्टमा लाग्दै फर्किएपछि पेनाल्टी एरियामा अनमार्क रहेका चौधरीले गोल गरेका थिए ।
सुरुवातमै १-० गोलले पछि परेपछि दबाबमा रहेको भुटानले पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा पहिलो खेलबाटै घर फर्कनु प¥यो । खेलमा भुटानको डिफेन्स लाइन निकै कमजोर देखिन्थ्यो । जितसँगै आर्मीले फाइनल प्रवेशका लागि शनिबार संकटा क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
बिहीबारको खेलको प्लेयर अफ द म्याच आर्मीका जितेन्द्र कार्की घोषित भए । उनले नगद २० हजार पुरस्कार पाए । पुरस्कारको सौजन्य मनोज सुब्बा तथा परिवारले पिता वीरहाङ लिम्बूको स्मृतिमा गरेको हो ।
शुक्रबारको खेल विभागीय टोली एपिएफ फुटबल क्लब र काउवार्न बजार प्रगति संघ, ढाका बंगलादेशबीच हुनेछ । गोल्डकपको विजेता टोलीले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ पाउने छन् ।
उत्कृष्ट गोलरक्षक, उच्च गोलकर्ता, उदयमान खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, फाइनल खेलको पहिलो गोलकर्ता र प्रशिक्षकलाई जनही २५-२५ हजार दिइने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख रुपैयाँ दिइने आयोजकले जानकारी दिएको छ ।