खेलकुद

आजदेखि बुढासुब्बा गोल्डकप, विजेतालाई १० लाख

By admin

February 25, 2023

सुनसरी । बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २३औं संस्करणको अन्तिम तयारी पूरा भएको छ । धरान रंगशालामा पत्रकार सम्मेलन गर्दै आयोजक धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले प्रतियोगिताका लागि सम्पूर्ण तयारी गरिसकेको बताए ।

 

शनिबारदेखि फागुन २० सम्म हुने प्रतियोगितामा बंगलादेश, भारत र क्यामरुनी टिमसहित ८ टोलीको सहभागिता रहनेछ । उद्घाटन खेल आयोजक धरान फुटबल क्लब र भारतको युनाइटेड कर्स्याङ (युकेएफसी) बीच हुनेछ ।

 

पाहुना टिम आउने क्रम जारी रहेको जनाउँदै क्लब अध्यक्ष राईले भने, ‘यसपालि ६५ वर्ष माथिका ज्येष्ठ नागरिक र शारीरिक अपांगता भएकालाई निःशुल्क प्रवेश दिइनेछ ।’ कोरोना महामारीले २०७६ सालपछि रोकिएको थियो । धरान उपमहानगरको संयोजन र गोर्खा ब्रुअरीको मुख्य प्रायोजनमा हुने प्रतियोगिता विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् ।

 

उत्कृष्ट खेलाडीले १ लाख, विधागत उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले जनही २५ हजार, सर्वाधिक गोलकर्ताले ३५ हजार र म्यान अफ द म्याचले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा बंगलादेशको केबीपीएस क्लब, युनाइटेड कर्स्याङ, नेपाल पुलिस क्लब, मोरङ, एभिनियर एफसी क्यामरुन, सर्लाहीको वाग्मती युवा क्लब र आयोजक धरान फुटबल क्लब छन् ।

 

बुढासुब्बाको २३औं संस्करणसम्म आइपुग्दा आयोजक क्लबले हालसम्म उपाधि जित्न सकेको छैन । पाँचपल्ट फाइनल पुगेको आयोजकले अरू क्लबका वा विदेशी खेलाडी समावेश नगरी धरानकै स्थानीय खेलाडी समावेश गरेर २२ सदस्यीय टिम बनाएको छ ।

 

क्लबका प्रशिक्षक सागर घिमिरेले विगतमा अधिकांश बाहिरका खेलाडी समावेश गरेर हारमात्र भोग्दै आएकाले यसपालि स्थानीय खेलाडीलाई अवसर दिइएको बताए । गोधूलि रनिङ कपमा उत्कृष्ट प्रदर्शन गरेका ४० बाट २२ खेलाडी छानिएको उनले बताए ।