झापा । तनावपूर्ण खेलबाट जित निकाल्दै विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब भद्रपुर झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । खेलको अन्तिम २ मिनेटमा तनाव सिर्जना भए पनि आर्मीले नतिजा आफ्नो पक्षमा पारेको हो ।
मेची रंगशालामा शनिबार भएको खेलमा ए डिभिजन टोली संकटा क्लबलाई पराजित गर्दै आर्मीले फाइनलको यात्रा तय गरेको हो । तर, खेलको ८८औँ मिनेटमा खेल तनावग्रस्त बनेको थियो । ८७औँ मिनेटमा आर्मीले पाएको फ्रिकिकमा गोल भए पनि फिफा रेफ्री कविन व्यन्जनकारले गोलको मान्यता नदिएपछि तनाव बढेको थियो ।
आर्मीका रिपु भुलानले मिलाइदिएको क्रसमा प्रज्वल गुरुङले हेडमार्फत गोल गरेका थिए । तर, त्यो गोलले मान्यता भने पाएन । आर्मीका खेलाडीहरु भने गोल भएको खुसीयाली मनाउन लागिपरेका थिए । गोलरक्षक समिट श्रेष्ठसमेत मैदानको मध्यभागमा आइपुगेका थिए ।
रेफ्री व्यन्जनकारले फाउल दिएर प्लेअन गराएपछि संकटाले काउन्टर खेलेको थियो । जसमा मनिष डाँगीले पेनाल्टी एरिया नजिक प्रहार गर्ने क्रममा जितेन्द्र कार्कीको फाउल भएको थियो । मुस्किलले गोलरक्षक श्रेष्ठले बचाएका थिए ।
तर, मनिषमाथि फाउल भएपछि दुवै टिमका खेलाडीबीच धकेलाधकेल भएको थियो । करिब ३ मिनेट खेल अवरुद्ध भयो । यसबीचमा आर्मीका प्रशिक्षक राजु तामाङ, परिवर्तित खेलाडी टंक बस्नेतलगायत अफिसियलले रेफ्री अफिसियलसँग गोलको मान्यता नदिइएको भन्दै आक्रोस पोखेका थिए ।
निर्धारित समय सकिएर थपिएको ५ मिनेटमा पनि निर्णय ननिस्किएपछि अतिरिक्त १४ मिनेट थप गरिएको थियो । तर, यसअघि आर्मीले खेल नखेल्ने भन्दै मैदान छाड्न लागेको थियो । यसक्रममा करिब १५ मिनेट समय आर्मीका खेलाडी र अफिसियलले छलफल गरेका थिए । अनेकन् प्रयासपछि आर्मी खेलमा फर्किएको थियो ।
थपिएको अतिरिक्त १४ मिनेटको ११औँ मिनेटमा आर्मीका चेतन केसीले गोल गर्दै अग्रता दिलाए । आर्मीका लागि सन्तोष केसीको फ्रिकिकमा चेतन केसीले सदुपयोग गर्दै उपाधि नजिक पुराएका हुन् ।
जितसँगै आर्मीले उपाधिका लागि मछिन्द्र क्लब र एपिएफ फुटबल क्लबबीचको विजेतासँग मंगलबार खेल्नेछ । फाइनल पुगेसँगै आर्मीले कम्तिमा ७ लाख रुपैयाँ पक्का गरेको छ ।
खेलको प्लेयर अफ द म्याच आर्मीका सुरज बस्नेत घोषित भए । उनले नगद २० हजार पुरस्कार पाए । पुरस्कारको सौजन्य मनोज सुब्बा तथा परिवारले पिता वीरहाङ लिम्बूको स्मृतिमा गरेको हो ।
आइतबार हुने अन्तिम सेमिफाइनल खेल मछिन्द्र क्लब र विभागीय टोली सशस्त्र प्रहरी बलको एीिएफ फुटबल क्लबबीच हुनेछ । गोल्डकपको विजेता टोलीले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ पाउने छ ।
प्रतियोगिताको प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २० हजार पाउनेछन् । उत्कृष्ट गोलरक्षक, उच्च गोलकर्ता, उदयमान खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, फाइनल खेलको पहिलो गोलकर्ता र प्रशिक्षकलाई जनही २५ हजार दिइने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख रुपैयाँ दिइने आयोजकले जानकारी दिएको छ ।