धरान । आयोजक धरान फुटबल क्लब २३औँ संस्करणको बुढासुब्बा गोल्डकप फुटबलको पहिलो खेलबाटै बाहिरिएको छ । शनिबार भएको उद्घाटन खेलमा पाहुना टोली युकेएफसी भारतसँग टाइब्रेकरमा पराजित भएको हो ।
निर्धारित ९० मिनेटमा दुवै टिमले गोल गर्न नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । जसमा ५-३ गोल अन्तरले पराजित हुँदै धरान फुटबल क्लब क्वाटरफाइनल खेलबाटै बाहिरियो ।
टाइब्रेकरमा धरानका रिवश मास्केको प्रहार युकेएफसीका गोलकिपर मनोज प्रधानले रोकेका थिए । धरानका रोमन लिम्बु, दोर्जे शेर्पा र मदन लाबुनले मात्र गोल गरे । युकेएफसीका आकाश प्रधान, सुब्रतो सोरेन, राज राउत, सिद्धान्त क्षेत्री र सुशील राईले गोल गरे ।
त्यसअघि निर्धारित समयमा गोल गर्ने थुप्रै अवसर पाए पनि धरानले त्यसको सदुपयोग गर्न नसक्दा पाहुना टोलीसँग स्तब्ध बन्न पुग्यो । खेलको म्यान अफ द म्याच युकेएफसीका गोलरक्षक मनोज प्रधान घोषित भए । उनले नगद ३५ हजार पुरस्कार प्राप्त गरे ।
भोलि आइतबारको दोस्रो क्वाटरफाइनल खेल बागमती युवा क्लब सर्लाही र एभनियर फुटबल क्लब क्यामरुनबीच हुनेछ ।