खेलकुद

मच्छिन्द्र भद्रपुर गोल्डकपको फाइनलमा (फाेटाेसहित)

By admin

February 26, 2023

झापा । उपाधिको दाबेदार मच्छिन्द्र फुटबल क्लब झापामा जारी भद्रपुर झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । कप्तान सुजल श्रेष्ठको नायकत्वमा मच्छिन्द्रले फाइनलमा स्थान बनाएको हो ।

 

अब मच्छिन्द्रले उपाधिका लागि विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबसँग मंगलबार भिड्नेछ । फाइनल प्रवेशसँगै मछिन्द्रले कम्तिमा ७ लाख रुपैयाँ पक्का गरेको छ ।

 

भद्रपुरस्थित मेची रंगशालामा आइतबार भएको अन्तिम सेमिफाइनल खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै मच्छिन्द्र उपाधि नजिक पुगेको हो ।

 

मच्छिन्द्रका लागि कप्तान सुजल श्रेष्ठले गोल गरेका हुन् । श्रेष्ठको गोल नै निर्णायक बन्यो । खेलको १७औँ मिनेटमा डिबक्सभित्र आन्दे्रस नियाको चलाखीपूर्ण पासलाई सदुपयोग गर्दै श्रेष्ठले जाली चुमाएका थिए ।

 

दर्शकले भरिभराउ रंगशालामा गतवर्षको लिग च्याम्पियन मच्छिन्द्रले गोल गरेपछि एपीएफ दबाबमा परेको थियो । पहिलो हाफमा मच्छिन्द्र एपीएफमाथि हाबी देखियो ।

 

 

खेलको २५औँ मिनेटमा मच्छिन्द्रका देवेन्द्र तामाङको फ्रिकिक प्रहार क्रस बारमाथिबाट आकाशियो । खेलको ३५औँ मिनेटमा सौरभ लिम्बूले डिबक्सभित्रबाट गरेको प्रहार एपीएफका गोलरक्षक एञ्जल श्रेष्ठको रोके ।

 

पहिलो हाफको अतिरिक्त समयमा एपीएफका सविन थापाको प्रहार क्रसबारमा ठोक्किएर बाहिरियो । दोस्रो हाफमा एपीएफले सुधारिएको खेल पस्केको थियो । निकै प्रतिस्पर्धात्मक खेलमा मच्छिन्द्रलाई एपीएफले दोस्रो हाफमा रोक्न सफल भयो । एपीएफले पाएको मौकाहरु सदुपयोग गर्न नसक्दा सेमिफाइनलबाट बाहिरिनु पर्यो ।

 

आइतबारको खेलको प्लेयर अफ द म्याच मच्छिन्द्रका कप्तान सुजल श्रेष्ठ घोषित भए । उनले नगद २० हजार पुरस्कार पाए । पुरस्कारको सौजन्य मनोज सुब्बा तथा परिवारले पिता वीरहाङ लिम्बूको स्मृतिमा गरेको हो । श्रेष्ठले दोस्रो पटक प्लेयर अफ द म्याचको पुरस्कार पाएका हुन् ।

 

 

फागुन ७ गतेदेखि सुरु भएको गोल्डकपको विजेता टोलीले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ पाउने छ । प्रतियोगिताको प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २० हजार पाउने छन् ।

 

उत्कृष्ट गोलरक्षक, उच्च गोलकर्ता, उदयमान खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, फाइनल खेलको पहिलो गोलकर्ता र प्रशिक्षकलाई जनही २५ हजार दिइने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख रुपैयाँ दिइने आयोजकले जनाएको छ ।