समाज

सोलुमा यसवर्षको पहिलोपटक हिमपात

By admin

February 26, 2023

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा यसवर्षकै पहिलो पटक हिमपात भएको छ । देशका अन्य भूभागमा अघिल्लो सातादेखि नै फाट्टफुट्ट वर्षा तथा हिमपात भए पनि सोलुखुम्बुमा भने आइतबार मात्रै वर्षासहितको हिमपात भएको हो ।

 

आइतबार बिहानैदेखि जिल्लाको मौसममा बदली आएसँगै अपराह्नबाट हल्का हिमपात सुरु भएको हो । अघिल्ला वर्षहरूमा पुस महिनामै हिउँ पर्ने गरे पनि यसपटक फागुनको दोश्रो सातामा हिउँ परेको स्थानीयहरू बताउँछन् ।

 

हाल सोलुखुम्बुको ३ हजार मिटर उचाइभन्दा माथिको क्षेत्रमा हल्का हिमपात भइरहेको छ । जिल्लाको तल्लो क्षेत्रमा आंशिक वर्षा र माथिल्लो क्षेत्रमा हिमपात भएपछि किसान र स्थानीयहरूले भने राहत महसुस गरेका छन् । हिउँ नपर्दा कालापत्थरमा परिणत भएका हिमालहरु आइतबार भने सेताम्मे देखिए ।

 

जिल्लाका पत्ताले, पिके, नाम्चे र खुम्जुङ लगायत स्थानमा हिउँ परिरहेको छ । हिउँदयामभरि हिउँ नपर्दा गर्मी सुरु भइसकेको हिमाली बस्तीहरुमा जाडो महसुस हुन थालेको छ ।

 

हिमपातपछि हिउँ खेल्न स्थानीयहरू पनि भेला हुन थालेका छन् । ‘पत्तालेमा साँझबाट हिउँ पर्न थालेको छ । गतसालको जस्तो बाक्लो हिउँ त छैन तर केही इन्च भने हिउँ जमेको छ । हिमपात भए पनि सडक मार्ग भने अवरुद्ध भएको छैन’, स्थानीय प्रकाश मगरले भने ।

 

नाम्चे बजार क्षेत्रमा भने बिहान केहीबेर मात्रै हिमपात भएको थियो । बजार क्षेत्रमा हिउँ कमै मात्रामा परे पनि हिमालमा भने हिमपात भइरहेको छ । ‘हिमालहरु पूरै सेताम्मे देखिएका छन्,’ सगरमाथा राष्ट्रिय निकुन्जका वार्डेन भूमिराज उपाध्यायले भने, ‘जमिनमा भने हिउँ जम्न सकेन, यहाँको जमिन धेरै नै तातिएको छ ।ु’

 

पानी परेपछि आलु, मकै तथा गहुँ खेतीका लागि आकाशे पानीको भर पर्ने जमिनहरू भिज्दा किसानहरू उत्साही बनेको नेचासल्यानका किसान दिपक बस्नेतले बताए । इकान्तिपुरबाट