धरान । पाँच पटकको विजेता नेपाल पुलिस क्लबलाई पराजित गर्दै झापाको काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज सोमबार भएको तेस्रो क्वाटरफाइनल खेलमा काँकडभिट्टाले विभागीय टिम नेपाल पुलिस माथि २-० को सहज जित दर्ता गर्यो ।
काँकडभिट्टाका लागि निशान लिम्बूले दुवै गोल गरे । उनले खेलको २०औँ र ८१औँ मिनेटमा गोल गरेका थिए । खेलको म्यान अफ द म्याच लिम्बस् नै घोषितहुँदै नगद १० हजार हात पारे। आजको विजेता काँकडभिट्टाले अगामी बुधबार हुने पहिलो सेमिफाइनल खेलमा युकेएफसी भारतसँग प्रतिस्पर्धा गर्नेछ ।
यसअघि युकेएफसी उद्घाटन खेलमा आयोजक धरान फुटबल क्लबलाई पराजित गर्दै अन्तिम चारमा प्रवेश गरिसकेको छ । भोलि मङ्गलबारको अन्तिम क्वाटरफाइनल खेल एन्फा मोरङ र बङ्गलादेशको केबिपिएस क्लबबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।
धरान उपमहानगरको संयोजन र गोर्खा ब्रुअरीको मुख्य प्रायोजनमा हुने प्रतियोगिता विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् ।
उत्कृष्ट खेलाडीले १ लाख, विधागत उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले जनही २५ हजार, सर्वाधिक गोलकर्ताले ३५ हजार र म्यान अफ द म्याचले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।