खेलकुद

राष्ट्रपति रनिङ शिल्डको उपाधि अर्जुनधारालाई

By admin

February 28, 2023

झापा । १३औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । अजुनधाराले ११ स्वर्ण पदकसहित उपाधि रक्षा गरेको हो ।

 

झापाको कनकाई नगरपालिकाको विभिन्न विद्यालयहरुमा भएको प्रतियोगितामा अर्जुनधाराले एक्लेथिक्समा मात्रै ७ वटा स्वर्ण पदक जितेको छ । यसैगरी उसुमा २ स्वर्ण र तेक्वान्दोमा २ स्वर्ण पदक जित्दै च्याम्पियन बनेको हो । अर्जुनधाराले यो जितसगै नगद २५ हजार र शिल्डसमेत प्राप्त गरेको छ ।

 

यसैगरी भद्रपुर नगरपालिकाले ८ स्वर्ण पदकसहित दोस्रो उपाधि रक्षा गरेको छ । भद्रपुरले एलेथिक्समा ४ स्वर्ण, कवड्डीमा १ स्वर्ण, उसुमा १ स्वर्ण र तेक्वान्दोमा २ स्वर्ण हात पारेको हो । यसैगरी हल्दिबारीले ७ स्वर्णसहित तेस्रो स्थान हासिल गरेको छ । एक्लेटिक्समा २ स्वर्ण र करातेमा ५ स्वर्ण प्राप्त गरेको छ ।

 

चौथो स्थानमा मेचीनगरले ५ स्वर्ण र बिर्तामोडले पनि ५ स्वर्णका साथ पाँचौ स्थान बनायो । दुबैले समान स्वर्ण पदक पाए पनि रजत पदक बढी जितेको आधारमा मेचीनगरले चौथो स्थान हासिल गरेको खेल प्रशिक्षक गोपाल यादवले बताए ।

 

यसैगरी कनकाई नगरपालिकाले समेत यस प्रतियोगितामा ३ वटा स्वर्ण पदक जित्न सफल बन्यो । कनकाई नगरपालिकाले एलेथिक्समा १ स्वर्ण र करातेमा २ स्वर्ण जित्न सफल बनेको हो ।

 

झापाका विभिन्न १५ पालिकाबाट छनौट भएका विद्यालयस्तरका १८ वर्षमुनिका विद्यार्थीहरु प्रतिस्पर्धामा सहभागी भएका थिए । प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स र मार्शलआटर्स गरी ४ समूहका १८ वटा फरक फरक प्रतिस्पर्धाबाट छनौट भएका प्रत्येक पालिकाका ९२ जना खेलाडीको सहभागिता रहेको थियो । जसमा १ हजार ३८० खेलाडीहरुले प्रतिस्पर्धा गरेको कनकाई नगर खेलकुद विकास समतिका संयोजक जीवन तिम्सिनाले बताए ।