खेलकुद

मोरङ बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा

By admin

February 28, 2023

धरान । एन्फा मोरङ यहाँ जारी बुढासुब्बा गोल्डकप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ । मङ्गलबार भएको अन्तिम क्वाटरफाइनल खेलमा पाहुना टोली बङ्गलादेशको केबिपीएस क्लबलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले पराजित गर्दै एन्फा मोरङले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

 

धरान रङ्गशालामा भएको खेलमा निर्धारित ९० मिनेटमा दुवै टिमले गोल गर्न नसकेपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट लिइएको हो । आजको खेलसँगै सेमिफाइनल समीकरण पनि पूरा भएको छ ।

 

आजको विजेता एन्फा मोरङले बिहीबार दोस्रो सेमिफाइनल खेलमा एभिनियर फुटबल क्लब क्यामरुनसँग प्रतिस्पर्धा गर्नेछ । एभिनियर बागमती युवा क्लब सर्लाहीलाई पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको टोली हो ।

 

भोलि बुधबार काँकडभिट्टा फुटबल टेनिङ सेन्टर झापा र युकेएफसी भारतबीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ । युकेएफसीले आयोजक धरान फुटबल क्लबलाई उद्घाटन खेलमा पराजित गर्दै सेमिफाइनल पुगेको हो भने काँकडभिटाले विभागीय टिम नेपाल पुलिस क्लबलाई पराजित गर्दै अन्तिम चारमा पुगेको हो ।

 

धरान उपमहानगरको संयोजन र गोर्खा ब्रुअरीको मुख्य प्रायोजनमा हुने प्रतियोगिता विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् ।

 

उत्कृष्ट खेलाडीले १ लाख, विधागत उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले जनही २५ हजार, सर्वाधिक गोलकर्ताले ३५ हजार र म्यान अफ द म्याचले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।