खेलकुद

आर्मी बन्यो भद्रपुर गोल्डकप च्याम्पियन

By admin

February 28, 2023

झापा । विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब यहाँ आयोजित प्रथम भद्रपुर झापा गोल्डकपको च्याम्पियन बनेको छ । उसले साविक लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लबलाई स्तब्ध पार्दै उपाधि रक्षा गरेको हो ।

 

मंगलबार भएको फाइनल खेलमा मच्छिन्द्र फुटबल क्लबलाई टाइब्रेकरमा ४-३ गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधि हात पारेको हो । निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि खेल अतिरिक्ततर्फ धकेलिएको थियो ।

 

अतिरिक्त समयको १४ मिनेटमा पनि दुवै टोलीबाट गोल हुन सकेन । अन्ततः टाइब्रेकर रोजिएको थियो । टाइब्रेकरमा मच्छिन्द्रका रन्जित धिमाल र देवेन्द्र तामाङको प्रहार आर्मीका गोलरक्षक समित श्रेष्ठले रोकेका थिए ।

 

टाइब्रेकरमा आर्मीका सेसेहाङ आङदम्बेको प्रहार मच्छिन्द्रका रक्षक विशाल श्रेष्ठले रोके । टाइब्रेकरमा आर्मीका दिपेन्द्र कार्की, सन्तोष केसी, रिपु भुलाल र सुशान्त चौधरीले गोल गरे ।

 

टाइब्रेकरमा मच्छिन्द्रका दिवाकर चौधरी, सुजल श्रेष्ठ र दिपेश घलेले गोल गरे । दुवै टोलीका गोलरक्षकले १ १ गोल बचाएको अवस्थामा मच्छिन्द्रको अन्तिम प्रहार देवेन्द्र तामाङले गरेका थिए । उनको प्रहार रोकिएपछि आर्मीलाई उपाधि सुम्पन मच्छिन्द्र बाध्य बन्यो ।

 

निकै प्रतिस्पर्धात्मक खेलमा मच्छिन्द्रले पाएका अवसर सदुपयोग गर्न सकेन । आर्मीको तुलनामा मच्छिन्द्रले राम्रो खेले पनि फिनिसिङ लाइन कमजोर हुँदा उपविजेतामा चित्त बुझाउनु प¥यो ।

 

खेलको ७३औँ मिनेटमा आर्मीका सुदिल राई र मच्छिन्द्रका ओमोलाजा करिमले आपसमा झगडा गरेपछि रातो कार्ड पाउँदै मैदान बाहिरिएका थिए । उनीहरु मैदान बाहिरिएपछि दुवै टोली १० खेलाडीमा सीमित भएको थियो ।

 

स्मरण रहोस्, आर्मीलाई झापाली मैदान भाग्यमानी बन्दै आएको छ । आर्मीको यो सिजनमा पहिलो उपाधि हो । झापा गोल्डकपको पाँचौ संस्करण सकिँदा आर्मी चार पटक च्याम्पियन बनिसकेको छ ।

 

मच्छिन्द्रका खेलाडी थकित देखिन्थे । यो सिजनको दोस्रो उपाधि रक्षा गर्ने दाउमा रहेको मच्छिन्द्रले फागुन ७ गतेमात्र सर्लाहीको राजर्षि जनक कपको उपाधि उचालेको थियो । मच्छिन्द्र दिनहुँ खेल खेलिरहेको छ । झापा र काठमाडौँमा दैनिकरुपमा खेल्दै आएको छ ।

 

काठमाडौँमा हिजोमात्र केपी ओली कपको सेमिफाइनलमा जित दर्ता गर्दै राति नै झापा आएको टोली हो । उसले भोलि फाइनल खेल खेल्नेछ ।