धरान । यहाँ आयोजित २३औँ बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि विदेशी टोली एभिनियर फुटबल क्लब क्यामरुनले जितेको छ । आज शनिबार भएको फाइनल खेलमा काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापालाई १-० गोल अन्तरले पराजित गर्दै एभिनियरले उपाधि चुमेको हो ।
एभिनियरको जितमा सब्बा अलीले खेलको ६५औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । उपाधि विजेता एभिनियरले नगद १० लाख र उपविजेता काँकडभिट्टाले ५ लाख हात पारेका छन् ।
अन्तिम सेमिफाइनल खेलमा एन्फा मोरङलाई २-० गोल अन्तरले पराजित गर्दै क्यामरुनी फुटबल टिम एभिनियर फाइनलमा पुगेको थियो ।
यस्तै, पहिलो सेमिफाइनलमा भारतको युनाइटेड कर्साङ फुटबल क्लब युकेएफसी भारतलाई ३-१ गोल अन्तरले पराजित गर्दै काँकडभिट्टाले फाइनल खेल खेलेको हो । फागुन १३ गतेदेखि भएको गोल्डकपमा ३ विदेशीसहित ८ टिमको सहभागिता रहेको थियो । (तस्वीर कपुरी न्यूज)