समाज

बिर्तामोडकी मन्जु साडे १९ ग्राम ब्राउन सुगरसहित पक्राउ

By admin

March 10, 2023

झापा । भित्री बस्त्रमा लुकाइछिपाई प्रतिबन्धित लागुऔषध ब्राउनसुगर नेपाल भित्र्याउने एक युवतीलाई सशस्त्र प्रहरीले झापामा पक्राउ गरेको छ । उनी भारतबाट नेपाल आउँदै थिइन् । उनीसँग स्कुटर थियाे । उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट भद्रपुरकाे टाेलीले पक्राउ गरेकाे हाे ।

 

झापाको भद्रपुर-गलगलिया नाकाबाट ब्राउनसुगर भित्र्याउने साविक तोपगाछी गाविस ५ घर भई हाल बिर्तामोड नगरपालिका १ स्थित हनुमाननगर निवासी ३४ वर्षीया मञ्जु चापागाईँलाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

 

शुक्रबार बिहान साढे १० बजेको समयमा प्र. १-०१-०१३ नम्बरको स्कुटर चढेर भारतबाट नेपालतर्फ आइरहेकी चापागाईँलाई मेची पुलस्थित सीमामा तैनाथ सशस्त्र प्रहरीले शङ्का लागि चेकजाँच गर्दा उनले लगाएको भित्री बस्त्रबाट १९ ग्राम ५८० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

 

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट भद्रपुरका इन्स्पेक्टर रामकुमार घिमिरे नेतृत्वको टोलीले उनलाई ब्राउनसुगर, नेपाली ५ हजार ७५ रुपैयाँ र ७९९ भारतीय रुपैयाँसहित पक्राउ गरी आवश्यक कारबाहीका लागि वडा प्रहरी कार्यालय भद्रपुर बुझाइसकेको जनाइएको छ ।

 

पक्राउ परेकी अन्जु प्रतिबन्धित लागुऔषध ब्राउनसुगरको कारोबारी भएको प्रहरी स्रोतको भनाइ छ । उनको सम्पर्कमा ब्राउनसुगरको सेवनकर्ता र अन्य बिक्रेता हुनसक्ने अनुसन्धानपछि खुल्ने प्रहरीको अुनमान छ ।