बिर्तामोड । बुट्टाबारी युनाइटेड क्लबले आयोजना गरेको दोस्रो जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगितामा अर्जुनधाराको युथ अफ खुदुनाबारी सेमिफाइनलमा प्रवेश गरेको छ ।
झापाको बिर्तामोड ६ स्थित हरियाली सामुदायिक वनको खेलमैदानमा जारी प्रतियोगितामा मेचीनगरको डिएफसी बाहुनडाँगीलाई पराजित गर्दै खुदुनाबारीले अन्तिम चारमा स्थान बनाएको हो ।
खुदुनाबारीले बाहुनडाँगीलाई ४-१ गोलअन्तरले पराजित गरेको हो । खुदुनाबरीका लागि विशाल खवासले खेलको ५ मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए । एकोहोरो दबाब सिर्जना गरेको खुदुनाबारीले खेलको ३०औँ मिनेटमा अग्रता दोब्बर बनायो ।
उसका लागि दिनेश मुर्मुले अग्रता दोब्बर बनाएका हुन् । यस्तै, दोस्रो हाफको ५ मिनेटमा राजेश दाहालले गोल गर्दै ३-० गोलको अन्तर निकालेका थिए । खेलको ७६औँ मिनेटमा विशाल खवासले व्यक्तिगत दोस्रो गोल गरे ।
उनको गोलसँगै ४-० को अग्रता लिएको खुदुनाबारीविरुद्ध खेलको अन्तिम मिनेटमा बाहुनडाँगीले एक गोल फर्कायो । बाहुनडाँगीका पविन तामाङले गोल गरेका हुन् । खेलको म्यान अफ दी म्याच खुदुनाबारीका विशाल खवास भए । उनले नगद २ हजार पाए ।
भोलि (मंगलबार)को अन्तिम क्वाटरफाइनल खेल बिर्तामोड युनाइटेड एफसी र जलथल एफसीबीच हुनेछ । बुट्टाबारी युनाइटेड क्लबले आयोजना गरेको प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार १११ र उपविजेताले नगद ५५ हजार ५ हजार ५५५ सहित ट्रफी पाउने छ ।