खेलकुद

बागमतीलाई रोक्दै मनाङ खप्तड गोल्डकपको सेमिफाइनलमा

By admin

March 27, 2023

धनगढी । मनाङ मर्स्याङ्दी क्लब छैठौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा सोमबार भएको खेलमा बागमती क्लबलाई २-१ गोल अन्तरले हराउँदै मनाङले अन्तिम चारमा स्थान बनाएको हो ।

 

मनाङलाई जित दिलाउन कोफी टिमोथी कुडो र सेदजामोल दाभ्लातजोनोभले एक-एक गोल गरे । यता बागमतीका लागि सृजन गौतमले एक गोल फर्काए । खेलको ३७औं मिनेटमा कोफीले गोल गर्दै मनाङलाई सुरुवाती अग्रता दिलाए । बागमतीले खेलको ४१औं मिनेटमा बराबरी गोल फर्कायो ।

 

बागमतीका लागि सृजन गौतमले बराबरी गोल फर्काए । पहिलो हाफमा १-१ गोलको बराबरी खेलेको मनाङले दोस्रो हाफमा थप एक गोल गर्यो । मनाङका लागि खेलको ६६औं मिनेटमा सेदजामोलले गोल गर्दै टिमलाई २-१ गोलको जित दिलाए ।

 

जितसँगै मनाङले सेमिफाइनलमा स्थान बनाएको छ । अब मनाङले विदेशी टोली एभिनिर फुटबल क्लब क्यामरुनसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । उक्त खेल चैत १५ गते हुनेछ ।

 

प्रतियोगिता अन्तरगत मंगलबार आयोजक सुदूरपश्चिम ११ र विभागीय टोली नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्नेछन् । खेल दिउसो ३ः३० बजे सुरु हुनेछ ।

 

मोफसलको सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । सुदूरपश्चिम प्रदेश सरकार मुख्य प्रबद्र्धक रहेको प्रतियोगितालाई सुदूरपश्चिम ११ स्पोर्टस क्लबले आयोजना गरेको हो ।

 

प्रतियोगितामा आयोजकसहित ‘ए’ डिभिजन ६, विदेशी टोली २ र मोफसलको एक गरी १० टोलीको सहभागिता रहेको छ । चैत ९ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल १८ गते हुनेछ ।